भक्तपुरमा आज पुलुकिसी जात्रा मनाइँदै — OSNepal

भक्तपुरमा आज पुलुकिसी जात्रा मनाइँदै

LC (KTM) October 03, 2023 0

भादगाउँ, १६ असोजः इन्द्रजात्राको अन्तिम दिन आज भक्तपुरमा धार्मिक तथा ऐतिहासिक महत्व बोकेको परम्परागत पुलुकिसी (ऐरावत हात्ती) जात्रा मनाइँदैछ ।

स्थानीय लाकुलाछेंटोलबाट सुरु हुने पुलुकिसी जात्रा भक्तपुर नगरको बुलुचा, नासमना, कुमालेटोल, वंशगोपाल, इटाछें, खमा, दरबारस्क्वायर, त्रिपुरासुन्दरी, चोछें, भोलाछें, नागपोखरी, गछें, सुजमारी, तचपाल, गोलमढी, सुकलढोका लगायतका स्थानको परिक्रमा गर्ने प्रचलन छ ।

भक्तपुरको लाकुलाछें टोलका बासिन्दाले बाँसको मान्द्रोले तयार गरेको पुलुकिसीलाई नीलो कपडाले छोपेर अगाडिको भागमा हात्तीको जस्तै सँढ राखी बनाइएको पुलुकिसीलाई स्थानीय तमारीमा रहेको आकाश भैरवलाई बलि सहितको पूजा सम्पन्न गरिसकेपछि जात्रा सुरु गरिन्छ । पुलुकिसी आउँदा आफू आएको सङ्केत दिन पुलुकिसीको तल घण्टा झुन्ड्याएर आउने गरिन्छ । जात्रामा पुलुकिसीलाई नगर परिक्रमा गराउँदा चारजना मानिसले बोक्ने र एकजनाले पुलुकिसीको तल घण्टा बजाउने गर्छन् ।

जात्राका क्रममा पुलुकिसीलाई वंशगोपाल र इटाछेंलगायत चोकचोकमा धान खुवाउने, तमारी र दरबारस्क्वायरमा आगो तपाउने, सुजमारीको तला तुन्छी (इनार)मा पानी खुवाउने प्रचलन छ ।

देवराज इन्द्रका विश्वासिलो सेवक पुलुकिसीलाई ऐरावत हात्तीका रुपमा लिने भएकाले यसलाई ऐरावत हात्ती जात्रा पनि भन्ने गरिन्छ । जात्राका क्रममा पुलुकिसीको सुँढले मानिसलाई छोएमा दशा लाग्छ भन्ने धार्मिक विश्वासअनुसार जात्राको समय पुलुसिकी आउँदा सुँढले छुन्छ कि भनी मानिसहरु टाढै बस्ने गर्दछन् ।

पुलुकिसी जात्रासँगै आजै आकाश भैरवको खट जात्रा, तीन दिन मनाइने याँमता (आकासे बत्ती) र मुपात्र जात्रा सम्पन गरिन्छ । जात्रामा मुपात्रलाई पुलुकिसीले कथंकदाचित भेट्यो भन्ने कुल्चेर मार्दा पनि हात्ती बन्ने पात्र र उनका सहयोगीलाई कुनै कानुन नलाग्ने हुनाले पुलुकिसी जात्राबीच बाटोमा पुगेपछि मुपात्र जात्रा शुरु गरिन्छ ।

देवीपुराण गन्थ्रअनुसार इन्द्रजात्रासँग सम्बन्धित यस पुलुकिसी जात्रा देवराज इन्द्रका पुत्र जयन्तलाई खोज्न हिँडेको सम्झनामा मनाइने गरेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर