पर्यटनमन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाइ — OSNepal

पर्यटनमन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर परिसरमा सफाइ

LC (KTM) October 11, 2023 0

गोरखा, २४ असोज (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ मङ्गलबार साँझ यहाँ आइपुग्नु भएको थियो ।

मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा (माओवादी) केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिनुभयो ।

मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने भनाइ छ ।

पर्यटकसमेत केबलकार चढेर दर्शन गर्नाका साथै यहाँबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुरा देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर