झोलुङ्गे पुल बनेसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज — OSNepal

झोलुङ्गे पुल बनेसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज

LC (KTM) October 11, 2023 0

बेनी (म्याग्दी), २४ असोज : म्याग्दीको मालिका गाउँपालिका–१, खोप्ती र वडा नं ६ लाई जोड्ने म्याग्दी नदीमाथि बनेको पटेरनीघाट झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । रू ५९ लाख नौ हजार तीन सय ६५ लागतमा एक सय १४ मिटर लामो पुल निर्माण भएसँगै म्याग्दी नदी वारि र पारिका स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

विसं २०७८ असोजदेखि निर्माण सुरु भएको उक्त पुल यही असोज २१ गते सम्पन्न भएपछि मङ्गलबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । नवनिर्मित पुलको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा उहाँले विकास निर्माणका पूर्वाधारले स्थानीयवासीको दैनिकीमा सहयोग पुग्ने बताउनुभयो ।

मालिका गाउँपालिका झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप)को आर्थिक सहयोग, टिविएसयु र पिटिएपी पोखरा र मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग एवं स्थानीयवासीको श्रमदानमा उक्त पुल निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष कर्ण मल्लले जानकारी दिनुभयो । पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत र सामान ढुवानीमा सहज हुने भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस जिल्ला उपसभापति केबी भण्डारी र सचिव भरत रकाल, मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा नं १ का वडाध्यक्ष टङ्कप्रसाद पुन, वडा नं ६ का वडाध्यक्ष पथबहादुर रोका, पिटिएपी पोखराका प्राविधिक अधिकृत दयाराम शाह, मिलनका प्राविधिक यामबहादुर विकलगायतले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत तथा सामान ढुवानी गर्न सहज हुने विश्वास व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर