भूकम्पले क्षति पुर्याएको कालिका मन्दिर र रङ्गमहल सम्पन्न — OSNepal

भूकम्पले क्षति पुर्याएको कालिका मन्दिर र रङ्गमहल सम्पन्न

LC (KTM) October 17, 2023 0

गोरखा, ३० असोज ः विनाशकारी गोरखा भूकम्पले क्षति पुर्याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो । मन्दिरको भ्यालढोकामा समेत मर्मत गर्नुपर्ने अवस्था भएपछि मन्दिर जिर्णोद्धार गरिएको हो ।

राष्ट्रिय पुरातत्व विभागले मन्दिर जिर्णोद्धारका लागि विसं २०७८ साउन १५ गते धर्म एस आरआर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले २०७९ असार १५ जिर्णोद्धार सक्नुपर्ने भए पनि नसकेपछि पुनः म्याद थप गरी ढिलो गरेर काम सम्पन्न गरेको हो ।

मन्दिर जिर्णोद्धारका क्रममा भित्र स्थायी टेका लगाउनुका साथै भुइँमा तेलिया बिछ्याइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुसालले जानकारी दिनुभयो । “भूकम्पले क्षति पुगेको मन्दिरको छानामुनिको कोठा पूरै भत्काएर पुनःनिर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “त्यसबाहेक मन्दिरका झ्यालढोकाहरु मर्मत गरिएको छ ।”

त्यस भूकम्पले क्षति पुर्याएको रङ्गमहल पनि मर्मत गरिएको प्रमुख भुसालले जानकारी दिनुभयो । रु एक करोड ९५ लाख लागतमा कालिका मन्दिर र रङ्गमहलको प्रवलीकरण गरिएको हो । पुराना संरचना कमजोर देखिएको भागको मात्र मर्मत गरिएको प्रमुख भुसालको भनाइ छ ।

“मन्दिर पूरै भत्काउन परेन, जुन भाग कमजोर देखिएको थियो त्यो भाग भत्काएर अरु भागलाई प्रवलीकरण गरिएको हो”, उहाँले भन्नुभयो । मन्दिर जिर्णोद्धारका काम सम्पन्न भएपछि सर्वसाधारणका लागिसमेत मन्दिरमा पूजाआजाका लागि खुला गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर