नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता — OSNepal

नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

LC (KTM) October 17, 2023 0

काठमाडौँ, ३० असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै दक्ष, जिम्मेवार र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा प्रभावशाली सङ्गठनको रूपमा स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

६८औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सीमित साधन र स्रोतका बीच अपराध नियन्त्रण र अनुसन्धानमा प्रहरीले विश्वस्तरीय कार्य गरीख्याति कमाउनु देशका निम्ति गौरवको विषय भएको बताउनुभयो ।

“सीमित साधनस्रोत, जनशक्ति र अनेकौँ चुनौतीका बाबजुद अपराध नियन्त्रण र अनुसन्धानमा नेपाल प्रहरीले विश्वस्तरमा जुन ख्याति कमाएको छ, त्यो हाम्रा लागि महत्वपूर्ण पुँजी हो”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “यो सङ्गठनको क्षमता अभिवृद्धिसँग सरकारको सफलता पनि गाँसिने हुनाले सङ्गठनको आधुनिकीकरणका लागि मेरो नेतृत्वको सरकार गम्भीर छ ।”

प्रहरी कर्मचारीको वृत्ति विकास, परिचालन र समन्वयमा सरकारले वैज्ञानिक विधि पालना गर्दै सङ्गठनभित्रका सबैले आत्मसम्मानका साथ देश सेवाको अनुभूति गर्न पाउनुपर्ने आफ्नो मान्यता रहेको र तदनुरु हुनुपर्नेमा आफूले निरन्तर जोड दिँदै आएको प्रधानमन्त्री दाहालले बताउनुभयो ।

सरकार प्रहरी जवानदेखि उच्चतम अधिकृतसम्मका सबैको साझा अभिभावक भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सबैलाई सरकारले समान व्यवहार गर्छभन्ने व्यवहारबाटै प्रमाणित भएको बताउनुभयो ।“सङ्गठनमा एकता कायम गर्न, प्रहरी कर्मचारीको मनोबल उकास्न नेतृत्वतह सधैँ सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री दाहालले विश्वव्यापीकरणसँगै फैलिएको अन्तर्राष्ट्रिय अपराधको सञ्जाल, सूचना प्रविधिको चरम विकासले थपेका चुनौतीको डटेर सामना गर्न तथा त्यसले प्रदान गरेका अवसरलाई उपयोग गर्न निर्देशन दिनुभयो । उहाँले सूचना–प्रविधिको विकाससँगै अपराधका नयाँ–नयाँ आयाम विकसित भइरहेको वर्तमान परिप्रेक्ष्यमा अपराध नियन्त्रण र अनुसन्धानमा प्रविधिमैत्री संयन्त्र बनाएर प्रविधिको भरपूर उपयोग गर्न निर्देशन दिनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल प्रहरीको छविमाथि प्रश्न उठ्ने कुनै पनि प्रकारका अवान्छित गतिविधि र गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी नेतृत्व पूर्णतः सक्षम रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनार्थ नेपाल प्रहरीले संयुक्त राष्ट्रसङ्घमार्फत गरेको योगदानको सराहना गर्नुभयो ।

आगामी दिनमा विश्वशान्तिका निम्ति नेपाल प्रहरीलगायत देशका सुरक्षा अङ्गको उपस्थिति र भूमिका बढाउने सन्दर्भमा सरकारले आवश्यक कूटनीतिक प्रयास गर्ने प्रधानमन्त्रीले बताउनुभयो ।

विविधतामा एकता राष्ट्रको पहिचान भएको तथा राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै आम नागरिकलाई संविधानप्रदत्त मौलिक हक निर्धक्क भएर उपभोग गर्ने वातावरण बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर