राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै, परराष्ट्रमन्त्री अमेरिका जाँदै — OSNepal

राष्ट्रसङ्घका महासचिव नेपाल आउँदै, परराष्ट्रमन्त्री अमेरिका जाँदै

LC (KTM) October 19, 2023 0

काठमाडौँ, २ कात्तिकः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले यही कात्तिक १२ देखि १५ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ ।मन्त्रिपरिषद्को आजको बैठकले महासचिव गुटेरेसको औपचारिक भ्रमण कार्यक्रम स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको यही कात्तिक ८ देखि १६ गतेसम्म संयुक्त राज्य अमेरिकाको भ्रमण कार्यक्रम पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले राष्ट्रिय मानवअधिकार आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।

सरकारले तल्लो अरुण जलविद्युत् परियोजना छ सय ६९ मेगावाट क्षमताका लागि आवश्यक एक सय सात दशमलव ९७ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ । भारतीय कम्पनी सतलज विद्युत् निगमले सो आयोजना बनाउन लागेको छ ।

मन्त्री शर्माका अनुसार अन्तर्राष्ट्रियस्तरको बालबालिका, विकास र शान्तिसम्बन्धी सम्मेलन आयोजना गर्न लुम्बिनी प्रदेश सरकारलाई सैद्धान्तिक स्वीकृति दिइएको छ । बङ्गलादेशको ढाकामा यही कात्तिक ११ देखि १३ गतेसम्म हुने निर्वाचनसम्बन्धी सेमिनारमा सहभागी हुन निर्वाचन आयुक्त सगुनशम्शेर जबराको भ्रमण स्वीकृत गरिएको छ ।

नेपाल र इजिप्टबीच युवा तथा खेलकुदसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न युवा तथा खेलकुद मन्त्रालयलाई स्वीकृति प्रदान गरिएको छभने वन पैदावार विकास समितिलाई रु आठ करोड ८५ लाख बराबरको ऋण सहायता दिने निर्णय भएको छ ।

यही कात्तिक २१ गतेदेखि मङ्सिर ६ गतेसम्म फ्रान्सको पेरिसमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४२औँ महासभामा भाग लिन शिक्षा तथा विज्ञान प्रविधिमन्त्री अशोककुमार राई र सचिव सुरेश अधिकारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ ।

यही असोज २७ गते सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाको छानबिन गर्न गत असार १२ गते गठित छानबिन समितिलाई नै कार्यादेश प्रदान गरिएको छ । यसैगरी कतार सरकारसँग एक समझदारीपत्रमा हस्ताक्षर गर्न सञ्चार मन्त्रालयलाई अख्तियारी दिइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र सचिव देवकुमारी गुरागाईँलाई यही कात्तिक २९ देखि मङ्सिर १ सम्म थाइल्याण्डको बैंककमा हुने सम्मेलनमा भाग लिन अनुमति प्रदान गरिएको छ भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सभामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ बमोजिम अमुदा श्रेष्ठ र पदमबहादुर गिरीलाई सदस्यमा मनोनयन गरिएको छ ।

सरकारले दसैँ, तिहार, नेपाल संवत् र छठलगायतका सांस्कृतिक पर्वहरूको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा मङ्गलमय शुभकामना व्यक्त गरेको छ ।

गत असोज २४ गतेको मन्त्रिपरिषद्को बैठकले चालु आर्थिक वर्षका लागि महान्यायाधिवक्ताको कार्यालयमा एकजना सूचना प्रविधि अधिकृतको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । उक्त बैठकले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको पैठारी गर्न अनुमति प्रदान गरेको छ । यसैगरी थाइल्याण्डमा आयोजना हुने एसिया प्रशान्त क्षेत्रको इनर्जी फोरममा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरिएको छ ।

रेल्वे सेवा सञ्चालन र मर्मतसम्भारका लागि तालिमप्राप्त जनशक्ति, आवश्यक उपकरण एवं मालसामान सरकार–सरकार तहमा नै सम्झौता गरी खरिद गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । रेल, मेट्रोरेल, मोनोरेल विकास आयोजनाका लागि विभिन्न सेवा, समूह, उपसमूहका अधिकृतस्तरका १४ अस्थायी दरबन्दी स्वीकृत प्रदान गरेको छ ।

अन्तर्राष्ट्रियस्तरको क्रिकेट र बक्सिङ प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी सहभागी मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई पुरस्कार प्रदान गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

आगामी मङ्सिर १९ र २० मा संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानामा हुने युएन पिस किपिङ मिनिस्ट्रियल बैठकमा सहभागी हुन उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ । सिन्धुली जिल्लाकी सुनकोसी गाउँपालिकालाई १५ शय्याको प्राथमिक अस्पताल निर्माणका लागि सोही गाउँपालिकाको वडा नं ३ को सात दशमलव दुई रोपनी जग्गा प्रयोग गर्न स्वीकृति दिइएको छ ।

यसैगरी राष्ट्रिय आवास कम्पनी लिमिटेडको रिक्त महाप्रबन्धक पदमा रामकृष्ण निरौलालाई नियुक्त गरिएको छ । नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा अर्जुनजङ्ग थापालाई बढुवा गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले न्याय सेवा आयोगको सिफारिसबमोजिम नेपाल न्याय सेवा, कानुन समूहतर्फका छजना राजपाङ्कित प्रथम श्रेणीका अधिकृतको सरुवा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर