एनआरएनए निर्वाचन विवाद : अध्यक्षको परिणाम प्रतिस्पर्धीद्वारा अस्वीकार — OSNepal

एनआरएनए निर्वाचन विवाद : अध्यक्षको परिणाम प्रतिस्पर्धीद्वारा अस्वीकार

LC (KTM) October 20, 2023 0

काठमाडौँ, ३ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ ।

उहाँहरुले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने बताउनुभएको हो ।

“प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने हामीले अपेक्षा गरेका थियौँ, तर पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन”, अध्यक्षका प्रत्यासी श्रेष्ठ र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्षमा निर्वाचित केसीले एक हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । साथै अध्यक्षका प्रत्यासी आर के शर्माले एक हजार दुई सय ८१ र महेश श्रेष्ठले एक हजार दुई सय २५ मत प्राप्त गर्नुभएको घोषणा निर्वाचन समितिले गरेको थियो ।

सङ्घको उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ भने महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको हो । अष्ट्रेलियामा रहेको कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर