जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष नेपाल — OSNepal

जनतालाई राहत र ऋणीलाई सहुलियतका कार्यक्रम ल्याउनुपर्छ : अध्यक्ष नेपाल

LC (KTM) December 09, 2023 0

कास्की, २३ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्रमा देखिएको सङ्कटका कारण प्रभावित बनेका व्यवसायी र ऋणीलाई सरकारले सहुलियत दिने कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

समाजवादी प्रेस सङ्गठन नेपाल कास्कीले पोखरामा आज आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले अहिले अर्थतन्त्र कामचलाउको अवस्थामा छ भनेर चित्त बुझाएर बस्न नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “विभिन्न कारणले धेरै व्यवसायीको हालत खराब भएको छ । ऋणको ब्याज बढेको छ । ऋण तिर्न नसकेर गम्भीर सङ्कटमा परेका व्यवसायीलाई ऋण चुक्ता गर्ने समय बढाएर हुन्छ वा ब्याजदर घटाएर हुन्छ राहत तथा लगानीकर्ता र ऋणीलाई सहुलियत दिनेबारे सरकारले सोच्नु पर्दछ ।”

अध्यक्ष नेपालले जनताका पीडा समाधान गर्ने गरी सरकारले काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बेथिति र विसङ्गति अन्त्यका लागि पटक–पटक आफ्नो पार्टीले सरकारको ध्यानाकर्षण गर्दैआएको बताउनुभयो । उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमै रहने वातावरण निर्माण गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । एकीकृत समाजवादी चुनौती सामना गर्ने आँट राखेर सबै शक्तिलाई एकताबद्ध बनाएर अघि बढिरहेको अध्यक्ष नेपालले स्पष्ट पार्नुभयो । “हामी कसैप्रति आग्रह पूर्वाग्रह राख्दैनौँ । हाम्रो निम्ति राष्ट्र र जनता नै मूल कुरा हुन् । राष्ट्रियताको रक्षा, राष्ट्रिय हितको प्रवर्द्धन र स्वाभिमानको रक्षा हाम्रो निम्ति मुख्य कुुरा हुन्”, उहाँले भन्नुभयो ।

गण्डकीमा एकीकृत समाजवादीलाई मन्त्रिपरिषद्मा सहभागी नगराएर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सहमतिको पालना नगरेको अध्यक्ष नेपालको आरोप थियो । उहाँले पार्टीलाई मन्त्रिपरिषद्मा सामेल गराउने विषयमा थप कुराकानी गर्ने स्पष्ट पार्नुभयो । केन्द्रीय, प्रदेश र स्थानीय सरकारले आफ्नो विकासको प्राथमिकता तोकेर त्यही अनुरुप काम गर्नुपर्ने अध्यक्ष नेपालको सुझाव थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर