नजन्माएकी छोरीलाई पत्र! आखिर के छ पत्रमा?


प्यारी छोरी,
तिमीलाई यो सुनेर अचम्म लाग्ला कि तिमी जुन चिठ्ठी पढ्दछौ, त्यो चिट्ठी तिमी यो संसारमा मात्र हैन मेरो गर्भमै नआउँदा लेखिएको हो । यो चिट्ठी मैले गरेको तिम्रो प्रतीक्षाको व्याकुलता र तिमीलाइ प्रेम गर्ने हतासको एकल साक्षी हो ।

बरु मेरो नारी हुनुको घमण्ड र आमा बन्ने रहरको साझा संगम हो यो चिठी ।

छोरी, मलाई राम्ररी याद छ, सम्भावनाको झिनो धागोमा अडिएको मेरो मातृत्त्वमयी कल्पनाको संसार जतिबेला पनि टुट्न सक्छ र मलाई बाँचुञ्जेल असन्तुष्टि भिराएर जान सक्छ । कहिलेकाहीं सोच्छु, यदि मेरो बिहे नै भएन भने? म सन्तान जन्माउन अयोग्य ठहरिएँ भने? यस्ता मन भँडुवा प्रश्नहरू मनमा आउनै दिइनँ मैले ।

बरु आफ्नो नारीत्वलाई अझ बढवा दिँदै कल्पनामै गर्भवती हुनेदेखि प्रसव पीडा खप्नेसम्मको चेष्टा गरिदिएँ । अझै भनौं, मैले मनमनै तिमीलाई जन्म दिइसकें । प्रसूति गृहमा नर्सले भर्खरै तिमीलाई मेरो योनीमार्गबाट निकालेर मेरै छातीमा टँसाएर राखिदिइन् । मैले मनमनै तिम्रो नाम पनि राखिदिएँ –खुशी ।

खुशी यस अर्थमा कि तिमी मेरी छोरी भयौ र म तिम्री आमा हुने सौभाग्य पाएँ । खुशी यस अर्थमा कि, शायद जिन्दगीमै पहिलोपटक मेरा स्तनहरू कुनै कुरुप नजरको शिकार नभएर आफ्नो सन्तानको आहार हुन पाएका छन् । खुशी, हुर्कंदै गरेकी तिमीलाई आँखामा अटाउनु, तिम्रो ओठको मीलनबाट आमा पुकारिनु, तिम्रा साना–ठूला रहर पूरा गरिदिनु, तिम्रा आँखामा आफ्ना सपनाहरूको गाजल लगाइदिनु, आफ्नो वैंशको घुम्टी उघारेर तिम्रो शिर सजाइदिनु मेरा लागि संसारकै खुशीमध्येका खुशीहरू लाग्छन् ।

खुशी अर्थात् तिमी । तिमी अर्थात् खुशी ।

छोरी, मेरा शरीरका सबै अङ्गहरू तिम्री हजुरमुमाको जस्तै छन् । तर, म उहाँजस्ती छैन । कारण, उहाँ र म फरक काल र परिस्थितिमा जन्मियौं । हुर्कियौं । त्यसैले पनि तिमी मैजस्ती हुनुपर्छ भन्ने चाहन्न । तर, म चाहान्छु तिमी चराजस्तै बन । सुन्दरताको बोझले आकाशको गहिराइ नाप्न नसक्ने मजुरजस्तो हैन, तौल र सुन्दरताको बाबजुत पनि बादलसँगै इतरि–न जाने सुँगाजस्तै होऊ । तर उडानको हदमा पुगेपछि घर फर्किन नभुल्नू । हरियो मकैको लालचमा परेर पासोमा नअल्झिनू ।

छोरी, जिन्दगी एउटा यात्रा हो । बाटोमा धेरै यात्रीहरू भेटिन्छन् । तीमध्ये कतिलाई तिमीले सहयात्रीको रुपमा पाउनेछौ भने कतिलाई प्रतिस्पर्धीका रुपमा पाउनेछौ । जित्नु मात्रै खेलको सार्थकता कदापी होइन भन्ने तिमीले बुझ्नु छ । पराईसँगको प्रतिस्पर्धामा आफन्त छुट्टिन सक्छन् भन्ने कुराको सधै याद राख्न जरुरी छ ।

किनकि, छुट्टिएका आफन्तहरु पुनः भेटिएपनि आफ्नोपन नभेटिन सक्छ । जिन्दगीको दौडमा आफ्नोपन देखाउँछन् । ती सबै आफ्ना हुन् । र, धकेलेर अगाडि बढ्नेहरू पराई हुन् ।
सहयात्रीको एउटै परिभाषा हामी, म र तिम्रा बाबालाई तिमीले उदाहरणका रुपमा लिन सक्छौ । त्यसबाहेक तिमीसँग दोहोरो प्रेम र विश्वास हुनेहरु पनि हुन् छोरी । प्रेम प्रकृति हो भन्ने त तिमीले बुझिसकेकी छौ । तिम्रो हकमा प्रेमको परिभाषालाई तिमीलाई आफ्नो प्रकृतिले प्रभाव पार्न सक्छ ।

यी कुराहरु आफ्नै भोगाइले निर्धारण गर्ने कुरा हुन् । म तिमीलाई भोगाइको परिकल्पना गर्न लगाएर तिमी हिँड्ने बाटो साँघुरो बनाइदिन सक्दिन । मलाई के विश्वास छ भने, तिमीलाई समयले दिएको सबै सरप्राइज मन पर्नेछ । तिमी जिन्दगी र प्रेम अनुभूत गरेर अझै परिपक्व हुनेछौ ।

छोरी खुशी, मैले बारम्बार भनिरहेकी छु कि, जिन्दगी एउटा यात्रा हो । एउटा यात्राको अन्त्य नभई अर्को यात्रा शुरु हुनै सक्दैन । शुरुवातको अन्तिम सत्य अन्त्य हो । जन्मिनुको अन्तिम सत्य मर्नु हो । र, जीवनको एउटै सत्य सन्तुष्टि हो । बाँच्नु र जिउनु फरक कुरा हुन् । बाँच्ने आशामा तिमीले जिउन भुल्नु हुँदैन । मर्ने डरले बाँच्न छोड्नु हुँदैन । थाकेका बेला, हारेका बेला, दुखेका बेला आँखा चिम्म गरेर मनमनै आफ्नो नाम लिनु, जो आफैं सन्तुष्टिको परिभाषा हो ।

म तिम्री आमा हुँ छोरी । आमाहरु चुरोटको धुवाँजस्तै हुन्छन् । जति तानेपनि, जति फ्याँकेपनि कहिल्यै नसकिने । समयको जुनसुकै बिन्दुमा म संसारबाट फालिन सक्छु । ठीक त्यसैगरी जसरी कालान्तरमा म मेरी आमाको गर्भमा तानिएकी थिएँ । विश्वास गर्नु, म हराएकी हुन्न । केवल आमाको गर्भमा तानिएकी थिएँ । विश्वास गर्नु म हराएकी हुन्न । अदृश्य हुन्छु । तिमीले अनुभूत गर्न नछोड्नू । म वायुमण्डलको हावामा मिसिएर तिमीलाई सुम्सुमाइ रहनेछु । जब तिमी आमा बन्नछौ, त्यसपछि म तिमीमा रुपान्तरण हुनेछु ।

तिम्री हुनेवाली आमा
सुनकेसरी

Comment