कञ्चनपुरमा निःशुल्क दाउरा वितरण — OSNepal

कञ्चनपुरमा निःशुल्क दाउरा वितरण

LC (KTM) January 12, 2024 0

कञ्चनपुर, २७ पुस । चिसो बढेसँगै बिहानीको झिसमिसेमै कृष्णपुर नगरपालिका–४ मौवाफाँटाका ३६ वर्षीय हरेन्द्र बोहरा ट्र्याक्टरमा दाउरा बोक्दै बजार क्षेत्रमा बाँड्दै हिँडेका देखिन्छन्। उनको दाउरा बाँड्ने निरन्तरता दुई सातादेखि बढेको हो ।

उनले निःशुल्करुपमा नगरपालिका क्षेत्रका बजार क्षेत्र र गाउँका चोकचोकमा निःशुल्करुपमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएका छन् । ज्याला मजदुरी गरी दैनिक गुजारा गर्ने व्यक्ति, न्यानो कपडाको जोहो मिलाउन नसक्ने व्यक्ति र बजार क्षेत्रका व्यापारीलाई चिसोबाट जोगाउन आगो ताप्ने व्यवस्था गर्नमा उनी लागेका हुन् । यो कार्य उनले तीन वर्षदेखि आफ्नै लगानीमा निरन्तररुपमा गर्दै आएका छन् ।

“आफूसँग उपलब्ध भएको दाउरा निःशुल्करुपमा वितरण गरी जाडोको समयमा ताप्ने गरी बाँड्ने गरेका छौँ”, उनले भने, “अपुग भएका क्षेत्रमा सामुदायिक वनबाट खरिद गरेर दाउरा आवश्यकताका आधारमा आफ्नै ढुवानीका साधनमा राखेर वितरण गर्छौं ।”

नगरपालिकाका–४, ५, ६ र ७ मा गरी पाँच सय क्विन्टल दाउरा वितरण गरिसकिएको उनले बताए । उनले चिसोबाट जोगाउन नगरपालिकाका चार वडाका ७० बढी ठाउँमा आगो ताप्ने व्यवस्था मिलाएका छन् । चिसोका कारण कोही बिरामी नपरुन् र ज्यान गुमाउनु नपरोस् भनेर यस कार्यमा लागेको उनले बताए।

“आगो ताप्न पाएर चिसोबाट जोगिन पाएका छौँ”, स्थानीय जोगी चौधरीले भने, “चिसोबाट जोगिनका लागि न्यानो कपडा थिएन, बोहराले उपलब्ध गराएको दाउरा बालेर आगो तापेर शरीरलाई न्यानो पार्दै आएका छौँ ।” बोहरा नगरपालिका क्षेत्रकै सफल किसान हुन् । उनले व्यावसायिकरुपमा कुखुरा, बाख्रा, माछा, बङ्गुरपालनको कार्यसँगै केराखेती गर्दै आएका छन् । व्यावसायिक कार्य गरेर आएको केही रकम सामाजिक कार्यमा खर्च गर्न पाउँदा खुसी भएको बोहरा बताउँछन् ।

“दिनदुःखीको सेवा नै ठूलो धर्म हो”, उनले भने, “यस कार्यले मनमा प्रसन्नता आउँछ, अझै अरु सामाजिक कार्यका लागि पनि काम गर्ने इच्छा छ, त्यो चाँडै कार्यान्वयनमा ल्याउनका लागि प्रयासरत रहेको छु ।” व्यावसायिक कार्य गरेर आएको रकमको केही हिस्सा समाज सेवाका लागि खर्च गर्न उनी अरुलाई पनि सल्लाह दिन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर