‘हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय’ : अध्यक्ष ओली — OSNepal

‘हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय’ : अध्यक्ष ओली

LC (KTM) January 12, 2024 0

काठमाडौँ, २७ पुस : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरक विचार रहेका राजनीतिक सङ्गठन र संस्थासँग सहकार्य गर्दा आफ्नो पार्टीको नीति र सिद्धान्त बिर्सन नहुने बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घको तेस्रो बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आफ्नो अस्थित्वसहित अरुसँग सहकार्य गर्न र सहभागिता जनाउन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिनुभयो ।

नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफैँ विज्ञ हुनुपर्ने बताउनुभयो । उहाँले महिलाले सङ्गठित वा असङ्गठितरूपमा देशका हरेक परिवर्तनमा योगदान रहेको उल्लेख गर्दै राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

विसं १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाले निर्वाह गरेको भूमिका असाधारण रहेको अध्यक्ष ओलीले बताउनुभयो । उहाँले एमालेलाई जीवन्त तुल्याउन महिलाले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभयो ।
एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठभित्र पार्टीका सबै जिल्लामा जिल्ला सम्मेलन सम्पन्न गर्ने समयसीमा भएकाले महिला सङ्घले पनि केही जिल्लामा महिला अध्यक्ष बनाउनका लागि दबाब दिनुपर्ने बताउनुभयो । सङ्घका अध्यक्ष टुकाभद्र हमालले आगामी तीन महिना सङ्गठन शुद्धीकरण अभियान सञ्चालन गरिने बताउनुभयो । बैठक भोलि सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर