पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन हुन्छ - मन्त्री ज्वाला — OSNepal

पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन हुन्छ – मन्त्री ज्वाला

LC (KTM) January 13, 2024 0

चितवन, २८ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्वपश्चिम रेलमार्ग निर्माणका क्रममा जनताका गुनासो सम्बोधन गर्दै सरकार अघि बढ्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँग कुरा गर्दै उहाँले रेलमार्ग अध्ययनका क्रममा बस्तीमा परेको भन्दै जनता आन्दोलित बनेको विषयमा सर्वपक्षीय छलफलबाट समस्याको समाधान निकाल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको गुनासो सम्बोधन गरेर अघि बढ्छौँ ।” तत्काललाई अध्ययनको काम रोकिएको उहाँले जानकारी दिनुभयो ।

जनताको असन्तुष्टि गुनासाका विषयमा आफ्नो ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आज हामी यहाँको अवस्था केहो, के कति क्षति हुन्छ भन्ने विषयमा छलफलबाट निष्कर्ष निकाल्ने छौँ ।” जनप्रतिनिधि, दलका प्रतिनिधि र सरोकारवालाबीच आजै छलफल गरिने उहाँले बताउनुभयो । पूर्वपश्चिम रेलमार्गाको रेखाङ्कनको विषयमा आफूहरु छलफलका क्रममा रहेको उहाँले बताउनुभयो । विवाद आइसकेपछि काम अहिलेका लागि स्थगित गरिएको उहाँको भनाइ छ ।

वास्तविकता के हो र यसबाहेकका विकल्प के हुनसक्छ भन्ने विषयमा छलफल गरेर जनताको गुनासो सम्बोधन हुने उहाँले बताउनुभयो । फरक प्रसङ्गमा मन्त्री ज्वालाले सडक निर्माणका लागि बजेटका कारण समस्या भएको बताउनुभयो । सडक निर्माणका लागि पर्याप्त बजेट नहुँदा आयोजना तीव्र रुपमा अघि बढ्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “रु ३७ अर्ब बजेट घटाइएको छ, बजेट घटेपछि स्वाभाविकरुपमा आयोजना प्रभावित भएका छन् ।” बजेटको अभाव र निर्माण व्यवसायीको ढिलाइले समेत समस्या भएको उहाँको भनाइ थियो । यी समस्या समाधान गर्दै अघि बढेको उहाँले बताउनुभयो । बजेटका विषयमा अर्थ मन्त्रालयसँग छलफल गर्दै देखिएका समस्या समाधान गर्दै मन्त्रालय अघि बढेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर