आजदेखि कैलालीको गोदावरीधाममा मकर मेला सुरु,१२ गतेसम्म सञ्चालन हुने — OSNepal

आजदेखि कैलालीको गोदावरीधाममा मकर मेला सुरु,१२ गतेसम्म सञ्चालन हुने

LC (KTM) January 14, 2024 0

अत्तरिया (कैलाली), २९ पुस । कैलालीको गोदावरी नगरपालिका–५ स्थित गोदावरीधाममा बाह्रराशी दर्शन मकरमेला सुरु भएको छ । गोदावरीधाम विकास समितिको आयोजनामा आजदेखि सुरु भएको मेला आगामी माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।

धार्मिक तथा पर्यटकीयस्थल गोदावरीधाममा पर्यटकीय चहलपहल बढाउने तथा यस क्षेत्रको प्रचारप्रसारमा मेला सहयोगी हुने विश्वासका साथ आयोजना गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए । “मेलामा स्नान कुण्ड, कुम्भ बाटिकाको परिसर र बाटोको उचित व्यवस्थापन गरेका छौँ । खानेपानी र बिजुली बत्तीको पनि व्यवस्था मिलाएका छौँ”, उनले भने ।

“मेलामा बाह्रराशी, नवग्रह, सत्ताइस नक्षेत्रको स्थापना गर्नुका साथै लक्ष्य हवन गरिन्छ”, अध्यक्ष जोशीले भने, “विभिन्न पुरायणको प्रारायण, ग्रह पूजा तथा ग्रह शान्ति, भजनकीर्तन, प्रवचन तथा कविता गोष्ठी गरिने छ ।” मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला, लुम्बिनी प्रदेशको बाँके, बर्दिया र छिमेकीमूलुक भारतबाटसमेत भक्तजन आउने उनको भनाइ थियो । माघे सङ्क्रान्तिका दिन गोदावरी नगरपालिकाले अत्तरिया बजारदेखि गोदावरीधामसम्म भक्तजनका लागि निःशुल्क बसको व्यवस्था गरेको नगरप्रमुख वीरेन्द्र भट्टले जानकारी दिए ।

“माघे सक्रान्तिको दिन श्रद्धालु भक्तजनको बढी आवतजावत हुन्छ । आवतजावतमा समस्या नहोस् भनेर अत्तरिया बजारबाट गोदावरीधामसम्मका लागि छ वटा बसको व्यवस्था गरेका छौँ”, उनले भने, “गत वर्ष पनि हामीले निःशुल्क बसको व्यवस्था गरेका थियौँ । गोदावरीधाममा प्रत्येक वर्ष बाह्रराशी दर्शन मकरमेला लाग्ने गर्दछ । प्रत्येक छ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक १२ वर्षमा महाकुम्भ मेला लाग्ने गरेको गोदावरीधाम विकास समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर