‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’ — OSNepal

‘राष्ट्रियसभा निर्वाचन : गण्डकीमा सत्तासाझेदार दललाई सहज’

LC (KTM) January 15, 2024 0

गण्डकी, १ माघ : यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशबाट चार दलका आठ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सत्तारुढ दलका तर्फबाट नेपाली कांग्रेसले अन्य र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा क्रमशः गोरखाका किरणबाबु श्रेष्ठ र तनहुँका पदमबहादुर परियारलाई उम्मेदवार बनाएको छ ।

गठबन्धनबाट महिलातर्फ नेकपा (माओवादी केन्द्र)ले पवर्तकी मनरुपा शर्मा चुनावी प्रतिस्पर्धामा उतारेको छ । मतभारका हिसाबले गण्डकीमा दोस्रो शक्तिका रुपमा रहेको नेकपा (एमाले)ले अन्य कलस्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा र अपाङ्गता/अल्पसङ्ख्यक कलस्टरमा हेमन्द्र शेरचनलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्यमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठलाई उम्मेदवार बनाएको छ । राप्रपाले अपाङ्गता/अल्पसङ्ख्यकतर्फ भने उम्मेदवार उठाएको छैन । अन्य, महिला र अपाङ्गता/अल्पसङ्ख्यकतर्फका तीन सिटका लागि निर्वाचन हुन लागेको हो । ती कलस्टरबाट निर्वाचित गण्डकीका तीन राष्ट्रियसभा सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।

मतभारका दृष्टिले अब हुने निर्वाचनमा सत्तारुढ दलका उम्मेदवारलाई चुनावी परिणाम आफ्नो पक्षमा पार्न सहज हुने देखिएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीय तहका एक सय ७० रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको छ ।

प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरि कुल छ हजार चार सय १० मतभार रहेको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका प्रदेशसभाका २७ र स्थानीय तहतर्फ प्रमुख र उपप्रमुख गरि ६७ मतदाता छन् । कुल मतभार दुई हजार सात सय चार रहेको छ । २२ प्रदेशसभा सदस्य र ६८ स्थानीय तहका प्रमुख र उपप्रमुख रहेको एमालेको मतभार दुई हजार चार सय ५८ रहेको छ ।

माओवादी केन्द्रका प्रदेशसभा सदस्य आठ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख ३० गरी नौ सय ९४ मतभार रहेको छ । दुई जना प्रदेशसभा सदस्य मात्र रहेको राप्रपाको एक सय छ, तीन स्थानीय तहको प्रमुख र उपप्रमुख रहेको राष्ट्रिय जनमोर्चाको ५७, एक प्रदेशसभा सदस्य र एक स्थानीय प्रमुख रहेको नेकपा (एकीकृत समाजवादी)को ७२ र स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित मनाङको ङिस्याङ गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङको १९ मतभार छ ।

गण्डकीमा कुल छ हजार चार सय १० मतभार रहेकामा सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाको मतभार जोड्दा तीन हजार आठ सय २७ पुग्छ । बाँकी एमालेसँग दुई हजार चार सय र राप्रपासँग एक सय छ मतभार छ । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य र ८५ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता छन् ।

बलियो मतभार गठबन्धन दलका पक्षमा रहेकाले आफ्ना उम्मेदवारले सहजै निर्वाचन जित्ने सत्ता गठबन्धनको राष्ट्रियसभा सदस्य निर्वाचन प्रदेश समन्वय समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले बताउनुभयो । उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन प्रदेशका ११ वटै जिल्लामा मतदाता भेटघाटको कार्यक्रम तय गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर