सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : सांसद सुवाल — OSNepal

सिंहध्वाका दरबार मल्लकालीन शैलीमा पुनःनिर्माण हुनुपर्छ : सांसद सुवाल

LC (KTM) January 16, 2024 0

भक्तपुर, २ माघ : प्रतिनिधिसभा सदस्य एवम् नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भूकम्प गएको आठ वर्षसम्म पनि सिंहध्वाका दरबारको पुनःनिर्माण नहुँदा भक्तपुर दरबार क्षेत्र असुरक्षित र जोखिमपूर्ण बनेको बताउनुभएको छ । २६औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज यहाँ आयोजित सुरक्षित घर निर्माणसम्बन्धी प्रदर्शनी उद्घाटन गर्दै उहाँले विश्वसम्पदा सूचीमा सूचीकृत सिंहध्वाका दरबार मल्लकालीन शैलीमै छिट्टै पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

विसं १९९० माघ २ गते गएको भूकम्पको सम्झनामा आज भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले दत्तात्रयमा संयुक्तरुपमा सो प्रदर्शनी आयोजना गरेका थिए । त्यस अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बलियो र भूकम्पप्रतिरोधी घर तथा भवन निर्माणमा नगरपालिकाले जोड दिएको बताउनुभयो ।

बागमती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाइँले १९९० सालको भूकम्पपश्चात पनि गएका ठूला भूकम्पले पु¥याएको क्षतिबाट पाठ सिक्नुपर्ने बताउनुभयो । उहाँले पुर्खाले पनौती, चित्तपोल, कटुञ्जे, कीर्तिपुरलगायतका ठाउँमा बस्ती विकास गर्दा र मठ मन्दिर, पाटी पौवा केबल देवता राख्नका लागि मात्र नभई यहाँको जनजीवन र भौगर्भिक स्थितिलाई मध्यनजर गर्दै भौगर्भिक ज्ञान सीपबाट निर्माण गरेको चर्चा गर्नुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्वजले सिकाएको प्रविधि, स्थानीय स्रोत र साधनको प्रयोगबाट बनेका सम्पदा अझै पनि अत्यन्त महत्वपूर्ण संरचनाका रुपमा रहेको बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इञ्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिलगायतले २०७२ को भूकम्पले क्षति पु¥याएका घरको अझै पुनःनिर्माण हुन नसक्नुमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रदर्शनीमा ३१ वटा भूकम्प प्रतिरोधी नमूना घर, ४३ वटा चित्रकला, २६ वटा ‘पेपर ब्रिज’, छ वटा तस्बिर र उद्धार सामग्री राखिएका थिए । त्यस अवसरमा जनप्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकाय, स्थानीय र विभिन्न विद्यालयका विद्यार्थीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर