खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का — OSNepal

खेलकुद क्षेत्रको पूर्वाधार निर्माणमा प्राथमिकता दिनुपर्छ : रक्षामन्त्री खड्का

LC (KTM) January 17, 2024 0

पाटन (ललितपुर), ३ माघ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका साथै खेलाडीको क्षमता अभिवृद्धिका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी रहेको बताउनुभएको छ ।

ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आज बुद्धि विकास खेलमैदान लगनखेलमा आयोजित १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उहाँले खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रतिभा प्रस्फुटन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार पार्नका लागि इमानदारी तथा जिम्मेवारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“खेल क्षेत्रको विकासका लागि खेलकुद पूर्वाधारलाई प्राथमिकता दिन जरुरी छ । आफू सरकारको जिम्मेवारीमा रहँदा यस क्षेत्रको विकासका लागि इमानदारीपूर्वक अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु”, उपप्रधानमन्त्री खड्काले भन्नुभयो, “तीनै तहको सरकार मिलेर खेलकुद पूर्वाधार निर्माण गर्नुपर्छ । यसका लागि एकताबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्न चाहान्छु ।” उहाँले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी खेलाडीलाई मित्रवत् प्रतिस्पर्धामा लाग्न आग्रह गर्नुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य मदनबहादुर अमात्यले खेलकुुदका माध्यमबाट खेलाडीले नेपालप्रतिको भावना उजागर गरेकामा हार्दिक आभार व्यक्त गर्नुभयो । ललितपुर क्षेत्र नं १ का सांसद उदय शमशेर राणा, क्षेत्र नं ३ का सांसद डा तोसिमा कार्की, जिल्ला समन्वय समितिका सभापति ऋषिदेव फुँयालले बर्सेनि हुने यस्ता क्रियाकलाप र प्रतियोगिताले खेलाडीलाई आकर्षित र हौसला प्रदान गरेको बताउनुभएको थियो । उहाँहरुले प्रतियोगितामा सहभागिता जनाउनु नै विजयको पहिलो सुरुवात भएको बताउनुहुँदै सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर