सिताके च्याउमा भविष्य खोज्दै काफ्ले दाजुभाइ, कसरी उत्पादन हन्छ ? — OSNepal

सिताके च्याउमा भविष्य खोज्दै काफ्ले दाजुभाइ, कसरी उत्पादन हन्छ ?

LC (KTM) January 21, 2024 0

मङ्गलबारे, ७ माघ : नेपालमा रोजगारी नभएर विदेशिनेको सङ्ख्या बढ्दो भए पनि नेपालमै उद्यम गर्न चाहाने र गर्नेहरु प्रसस्तै छन् । वैदेशिक रोजगारीका लागि जाने दैनिक हजारौँ युवाको भीडमा यहाँको माईजोगमाई गाउँपालिकाका काफ्ले दाजुभाइ भने विदेश नजाने सोचका साथ गाउँमा नै सिताके च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

उक्त गाउँपालिका–६ स्थित प्याङका काफ्ले दाजुभाइ सिताके च्याउ खेतीबाटै भविष्यका लागि आयआर्जनको उपाय खोजिरहेका छन् । घनेन्द्र काफ्ले र रामप्रसाद काफ्लेले च्याउ उत्पादन गरी आफैँ बजारसम्म पु¥याएर बिक्रीसमेत गर्दै आएका छन् । पूर्वी नेपालका विभिन्न बजार तथा मार्टमा उनीहरूको उत्पादन पुगेको हुन्छ ।

हाल विराटनगर, धरान, विर्तामोड, दमक तथा जिल्लाकै विभिन्न बजारमा आफ्ना उत्पादन पु¥याउने गरेको उनीहरूकोे भनाइ छ । भारतका विभिन्न बजारमासमेत आफ्ना उत्पादनको प्रसस्तै माग रहेको घनेन्द्र बताउनुहुन्छ । कुनै समयमा त भारतबाट माग आएपछि उही नै पु¥याइदिने गरेको उहो उल्लेख गर्नुहुन्छ । “एकपटक खाएपछि आफैँ पनि फोन गरेर मगाउँछन्, घनेन्द्र भन्नुहुन्छ ।

सुरुमा पाँच सय काठको मुडाबाट सुरु गरिएको च्याउखेती विस्तार भएर हाल तीन हजार पाँच सय मुडामा विस्तार भइसकेको छ । सो मुडाबाट दैनिक २० किलो भन्दाबढी च्याउ उत्पादन हुँदै आएको छ भने मासिक तीन सय किलोसम्म उत्पादन हुने गरेको छ । प्रतिकिलो रु आठ सयदेखि एक हजारसम्ममा आफ्नो उत्पादन बिक्री भइरहेको रामप्रसाद बताउनुुहुन्छ ।

उत्पादित च्याउलाई प्रायः गे्रडिङ गरेर बजारसम्म लैजाने गरिएको छ । राम्रो र ठूलो दानाकोे प्रतिकिलो रु एक हजारदेखि रु उक हजार दुई सयसम्ममा बिक्री हुने र सानो दानाको प्रतिकिलो रु छ सयदेखि रु आठ सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ । घरमै बसेर बसेर च्याउखेती गर्दा मासिक रु दुई लाख कमाइ हुने गरेको, र घरका परिवार सबै नै च्याउमा लागेको रामप्रसाद बताउनुहुन्छ ।

आत्मनिर्भर हुनका लागि विदेश नै जानुनपर्ने उदाहरण बन्नुभएका काफ्ले दाजुभाइ गर्न सिताके च्याउखेती तथा अन्य कृषि पेसाबाट मनग्य आम्दानी हुनेमा जोड दिनुहुन्छ । तीन वर्षअघि यो खेती गर्न सुरु गरिएको र सुरुमा जमिन भाडामा लिएर खेती सुरु गरिएकोमा आफ्नै जग्गामा संरचना निर्माण तयार पारेपछि सो जमिन फिर्ता दिँदा रु ३० लाख घाटा भएको थियो । आफ्नै जमिनमा उत्पादन हुन थालेपछि भने त्यो बेलाको घाटा हाल उठिसकेको घनेन्द्र बताउनुहुन्छ ।

यो च्याउको उत्पादन १२ महिना नै गर्न सकिने भएकाले आधुनिक प्रविधिको प्रयोग र आफैँमा दक्षता भए खेती गर्न खास समस्या हुँदैन । जङ्गलमा उत्पादन हुने काठको मुडामा यसको खेती गर्न सकिन्छ । उत्पादित च्याउ बजारसम्म लैजाने गर्नुभएका काफ्ले दाजुभाइ बिचौलियामार्फत गरिने व्यवसायले घाटा हुने गरेको बताउनुहुन्छ । बिचौलियाले राखेको च्याउ तीन दिनसम्म नकिक्दा उत्पादन गर्ने किसान नै बदनाम हुने गरेको विगतका घटनाले देखाएको र बिचौलियाले आफूखुसी मूल्य तोक्दा यसको खास मूल्यमासमेत अन्योल देखापर्न सक्छ ।

आफैँले उपभोक्तसमक्ष पु¥याउदा ताजा उपभोग गर्न पाइने र स्वादमासमेत फरकपर्ने गरेको छ । ताजा च्याउको स्वाद मिठोे हुने तर ओइलाएको च्याउको स्वादमा फरक पर्ने भएकाले आफैँले बिक्री गर्नुपरेको घनेन्द्रको भनाइ छ ।

विवाह तथा अन्य चाडवाडका बोलामा यसको माग बढी आउने गरेको र कहिलेकाहीँ बजारको मागभन्दा बढी उत्पादन हुँदा समस्या हुने गरेको छ । सरकारबाट सहयोग मिले अझ धेरै गर्न प्रेरणा मिल्ने उहाँ बताउनुहुन्छ ।

कसरी उत्पादन हन्छ सिताके च्याउ ?

यो च्याउको उत्पादन काठको मुडामा गरिन्छ । दरो र बलियो काठ प्रयोग गर्दा बढी समयसम्म उत्पादन लिन सकिन्छ । बीचमा मुडा फेर्नुपर्दा झन्झट बढ्ने हुन्छ । बढी समयसम्म उत्पादन लिन प्रायःकट्टुसको मुडामा बीउ राख्ने गरिन्छ । काठमा प्वाल पारेरभित्र बीउ राखिन्छ । बीउ राखेको चार महिनासम्म सो मुडालाई घाम नलाग्ने ठाउँमा राख्नुपर्दछ । बीउ टुसाएको केही समयपछि उत्पादन लिन सकिन्छ । उत्पादन भइसकेपछि मुडालाई भिजाउनुपर्छ । प्रत्येक ५१ दिनमा मुडालाई पानीमा डुबाएर घाम नलाग्ने स्थानमा राख्नुपर्छ । प्रयोग भएको काठको मुडाबाट पाँच वर्षसम्म उत्पादन लिन सकिने काफ्ले दाजुभाइको भनाइ छ ।

प्रयोग गर्ने तरिका

सिताके च्याउलाई तरकारीका रुपमा प्रयोग गर्न सकिन्छ । सामान्य होटलदेखि चारतारे होटलसम्म यसको उत्पादन पुग्न थालेको छ । महँगो भएकै कारण कम मात्र बजारमा बिक्री हन्छ । यसलाई झोल बनाएरसमेत खान र दालमा मिसाएर पनि खान सकिन्छ । सुकाएको यो च्याउको सुकुटी पनि बिक्री हुँदै आएको छ । सुकुटी चाहेको जुनसकै बेला पनि खान सकिने भएकाले प्रायः विदेशमासमेत निर्यात हुँदै आएको छ । स्वादअनुसार तावामा सेकाएर वा सेकुवा बनाएरसमेत प्रयोग गर्न सकिन्छ ।

तयारी यो च्याउको सुकुटी प्रतिकिलो रु १२ हजार सम्ममा बिक्री हुँदै आएको छ । यसबाट भिटामिन डि पाइने भएकाले बालबालिका तथा वृद्धहरुका लागि अत्यन्तै राम्रो मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर