झापामा फुटबलका सात सयभन्दा बढी व्यावसायिक खेलाडी — OSNepal

झापामा फुटबलका सात सयभन्दा बढी व्यावसायिक खेलाडी

LC (KTM) January 23, 2024 0

झापा, ९ माघ । झापा फुटबलको उर्वरभूमि बनेको छ । यहाँ सात सयभन्दा बढी फुटबलका व्यावसायिक खेलाडी रहेको झापा जिल्ला फुटबल सङ्घका अध्यक्ष भगिरथ आले बताउँछन् । उनका अनुसार जिल्लामा वार्षिक रुपमा एउटा अन्तर्राष्ट्रियस्तरको, २५ वटा प्रादेशिकस्तर र दर्जनौँ वडा, टोलस्तरका फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् ।

झापामा विगतमा खसी र भाले पुरस्कार राखेर सहर र गाउँमा प्रशस्त फुटबल प्रतियोगिता सञ्चालन हुन्थे । दसैँ र तिहारका बेला आयोजना हुने यस्ता प्रतियोगिताले स्थानीय खेलाडी उत्पादनमा ठूलो योगदान दिएका थिए । अहिले त्यस्तो चलन तोडिएर नगद राशिको पुरस्कारमा रुपान्तरण भएको छ ।

स्थानीय सहकारी, उद्योगी र व्यापारीले फुटबल प्रतियोगितामा आर्थिक सहयोग पु¥याएर खेलकुदको विकासमा हौसला बढाइरहेको उनको भनाइ छ । कोरोना महामारी अघिसम्म झापामा वार्षिक चार वटासम्म अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएका थिए । उनले महामारीको असर फुटबल खेलमा पनि परेको बताए ।

विगतमा झापा गोल्डकप, शिवसताक्षी गोल्डकप, काँकरभिट्टा गोल्डकप र रोलिङ च्यालेन्ज गोल्डकप सञ्चालन हुने गरेका थिए । अहिले भद्रपुर गोल्डकप थपिएको छ । “अहिले ठूला पुरस्कार राशिका प्रतियोगिता झापा र भद्रपुर गोल्डकपमा सीमित भयो”, उनले भने, “त्यही पनि बर्सेनि आलोपालो सहमतिमा आयोजना हुने गरेका छन् ।”

अस्मिता खवासलगायतका महिला खेलाडीले राष्ट्रिय टिममा बसेर योगदान पु¥याए भने हरि खड्का, मीन बस्नेत, प्रवेश कटुवाल, विशाल राई, सचिन्द्र धिमाललगायतका खेलाडीले पुरुष राष्ट्रिय टोलीको विभिन्न जिम्मेवारी सम्हाले । अध्यक्ष आलेले फुटबल खेलमा धेरै युवा आकर्षित भए पनि भविष्य सुनिश्चित नदेखेर विदेशिने क्रम बढेकोमा गुनासो गरे । सरकारले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गरेर शिक्षामा जस्तै लगानी गर्ने नीति अवलम्बन गर्न आवश्यक रहेको उनको सुझाव छ ।

अध्यक्ष आलेले जिल्लामा हाल ‘ए’ डिभिजनका आठ वटा र ‘वी’ डिभिजनका ११ वटा गरी १९ वटा क्लब रहेको बताए । जिल्लाबाट नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी लगायतका विभागीय टिममा खेल्ने खेलाडी पनि उत्तिकै रहेको बताए । उनले सात सयभन्दा बढी व्यावसायिक खेलाडीले झापाको फुटबल प्रतियोगितामा सहभागिता जनाउने गरेको बताए ।

झापामा विभिन्न प्रतियोगितामा विजेताले एक लाखदेखि १३ लाखसम्म पुरस्कार पाउनेगरी फुटबल प्रतियोगिता आयोजना हुने गरेका छन् । खेलाडी उत्पादन र उत्कृष्ट खेलाडी चयनका लागि झापा लिग पनि भइरहेको छ । झापाको रोलिङ च्यालेन्ज गोल्डकपको सुरुआतकर्ता पङ्कजविक्रम नेम्वाङ हाल अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष नै हुन् ।

जिल्लामा हुने वडा र टोलस्तरीय फुलबल प्रतियोगिताका लागि सङ्घसँग अनुमति लिनु नपर्ने हुँदा वार्षिक रुपमा हुने सयौँ खेलको लेखाजोखा छैन । नयाँ खेलाडी र प्राविधिक जनशक्ति उत्पादन गर्न सङ्घ लागि परेको उनले बताए । उनले प्राविधिक र नयाँ खेलाडी उत्पादनमा जोड दिइरहेको बताए । उनले जिल्लामा खेल सिकाउन हाल ६० जना दक्षप्राविधिक र २४ जना रेफ्री रहेको बताए ।

अध्यक्ष नेम्वाङले चालु आर्थिक वर्षभित्रमै थप दक्ष प्राविधिक उत्पादनको तयारी गरिरहेको बताए । उनले युवालाई कुलतमा फस्न नदिन र विदेश पलायन रोक्ने माध्यम फुटबल नै भएको हुँदा सरकारले तत्काल नीति बनाएर लगानी बढाउनुपर्ने धारणा व्यक्त गरे । छिमेकी मुलुक भारतको दार्जिलिङ, कालिम्पोङ र सिक्किमका बासिन्दाले फुटबल खेलेको देखेर झापाली युवा फुटबल क्षेत्रमा दशकौँ अघिदेखि आकर्षित भएको उनको भनाइ छ ।

उनले भद्रपुर, कनकाई र अर्जुनधारा नगरपालिकाका प्रमुख क्रमशः गणेश पोखरेल, राजेन्द्र पोखरेल र बलदेव गोम्देन पनि जिल्लाका चर्चित फुटबल खेलाडी रहेको बताए । झापामा मेची रङ्गशाला मात्र राम्रो र सुविधा सम्पन्न खेल मैदान छ । उनले विर्तामोडमा रहेको अव्यवस्थित रङ्गशालालाई पनि सरकारीस्तरको बनाउन तीनै वटा तहको सरकारले पहल गर्नुपर्ने बताए । रङ्गशाला फराकिलो भएको, एकान्त स्थानमा पनि रहेको तथा यातायातको सुविधा भएको र सुरक्षाको दृष्टिकोणले उपयुक्त रहेको उनको भनाइ छ ।

हाल जिल्लामा रहेका सामुदायिक वन क्षेत्रभित्र भएका खेल मैदान र विद्यालयका खेल मैदानलाई फुटबल प्रतियोगिताका लागि प्रयोग गरिँदै आएको आलेले बताए । स्थानीय पालिकाले आफ्नो छुट्टै रङ्गशाला निर्माणमा चासो देखाइरहेका छन् । त्यसले झापाको फुटबल भविष्य अझ राम्रो हुने उनको कथन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर