प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै — OSNepal

प्राथमिक अस्पताल थानकोटमा ‘डायलायसिस’ सेवा सञ्चालनमा आउँदै

LC (KTM) January 25, 2024 0

काठमाडौँ, माघ ११ गते । चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित प्राथमिक अस्पताल थानकोटमा मिर्गौलाका बिरामीका लागि डायलायसिस सेवा सञ्चालनमा ल्याइने भएको छ । विसं २०७६ वैशाख २८ देखि चन्द्रागिरि–४ थानकोटमा सञ्चालित १५ श्ययाको सो अस्पतालले हाल प्रयोगशाला, आकस्मिक सेवा र ‘बर्थिङ सेन्टर’सहितको सेवा प्रदान गरिराखेको छ ।

अस्पताललले पछिल्लो समय विशेषज्ञ मुटु रोग, परिवार नियोजन, ज्येष्ठ नागरिक, विपन्न तथा अपाङ्गता भएकालाई निःशुल्क सेवा प्रदान गरिराखेको छ । अस्पतालमा डायलायसिस सेवा सञ्चालनसम्बन्धी चन्द्रागिरि नगरपालिका र चन्द्रागिरि लायन्स ‘किड्नी डायलायसिस प्रोजेक्ट कमिटी’बीच बुधबार द्विपक्षीय हस्ताक्षर सम्पन्न भएको छ ।

सो अवसरमा नगरप्रमुख घनश्याम गिरीले प्राथमिक अस्पतालको परिसरमा नगरपालिकाले थप १५ श्ययाको अस्पताल बनाउन सुरुआत गरेको जानकारी दिँदै अस्पतालमा डायलायसिस सेवा सञ्चालनका लागि सहयोग गरेकामा धन्यवाद दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा उच्च प्राथमिकता दिँदै लगानी गरिरहेको जानकारी दिनुभयो ।

लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५, लायन्स क्लब अफ चन्द्रागिरि, लायन्स क्लब अफ चन्द्रागिरि नर्थ र लायन्स क्लब अफ काठमाडौँ ग्लोबलको सहजीकरणमा लायन्स क्लब इन्टरनेसनल फाउन्डेसनको सहयोगमा उक्त डायलायसिस सेवा सञ्चालन हुने जनाइएको छ । आगामी छ महिना भित्रनै उक्त सेवा सुचारु हुने उक्त कमिटीका अध्यक्ष राजु महर्जनले जानकारी दिनुभयो ।

‘प्राथमिक अस्पताल थानकोट’को हाताभित्रै थप १५ श्ययाको नगर अस्पताल गत हप्ता शिलान्यास गरिएको थियो । मन्त्रिपरिषद्को गत फागुन ४ को बैठकले चन्द्रागिरि नगर अस्पताल बनाउन नगरपालिकालाई २३ रोपनी सार्वजनिक जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो । यसपछि नगरपालिकाले फागुन २१ गते अस्पतालको नयाँ भवन निर्माण गर्न बोलपत्र आह्वान गरेको थियो ।

गत असार २० मा चन्द्रागिरि नगरपालिका र निर्माण कम्पनीका बीचमा दुई वर्षभित्रमा भवन निर्माण सम्पन्न गर्ने गरी द्विपक्षीय सम्झौता भएको थियो । कर बाहेक रु १७ करोड ४९ लाख ३४ हजार एकसय ९९ मा तीन तल्ले भवन बन्ने जनाइएको छ ।

‘चन्द्रागिरिलाई सहयोग जारी रहन्छ’

यसैबीच नगरप्रमुख गिरी, उपप्रमुख उपप्रमुख वसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत अर्यालसँग अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग ९युएसआइडी० का उच्च पदस्थ पदाधिकारीका बीचमा छलफल भएको छ । बुधबार सम्पन्न भएको सो छलफलमा नगरप्रमुख गिरीले हाल नगरपालिकाले वातावरण संरक्षणमा गरिरहेको कामसहित नगरका गतिविधि प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा युएसआइडी प्रशासन सहायक सेनन ग्रिनले युएसआइडीले चन्द्रागिरि नगरपालिकालाई प्रदान गर्दै आएको सहयोग जारी रहने जानकारी दिँदै अगामी दिनमा थप सहयोगका बारेमा यस्ता छलफलले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले युएसआइडीको आर्थिक एवं प्राविधिक सहयोगमा स्वच्छ हावासम्बन्धी परियोजना कार्यान्वयन गरिराखेको बताउनुभयो ।

सो अवसरमा नगरपालिकाले कार्यक्रम कार्यान्वयनमा देखाएको तत्परतालाई युएसआइडीका प्रतिनिधिले धन्यवाद दिएका थिए । परियोजनाअन्तर्गत जस्तै सवारी साधनको वायु गुणस्तर जाँच र हरियो ‘स्टिकर’ प्रदान, सवारीमा ‘डस्टबिन’ राख्न प्रेरणास्वरूप चेतनामूलक ‘स्टिकर ’ टाँस, स्वास्थ्यकर्मी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई तालिम र घरघरमा परिचालन गर्ने काम नगरपालिकाले गरिराखेको छ । यसैगरी सरसफाइकर्मीलाई अभिमुखीकरण र वायु गुणस्तर र फोहरमैला सचेतनाका लागि नागरिक सञ्जाल गठन परिचालन र पैरवी, इन्डक्सन चुलो वितरणसमेत नगरपालिकाले गरिराखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर