बाँकेमा चौबीस वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता — OSNepal

बाँकेमा चौबीस वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता

LC (KTM) January 25, 2024 0

खजुरा (बाँके), ११ माघ । बाँकेमा २४ वर्षपछि ब्याडमिन्टनको राष्ट्रिय प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपालगञ्जमा आयोजित प्रतियोगितामा करिब दुई सय २५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्ने आयोजक बाँके जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष सञ्जय थापाले बताए । प्रतियोगितामा विभागीय खेलाडीहरूको सहभागिता रहनेछ ।

प्रतियोगिताका लागि प्रवर्द्धक राष्ट्रिय खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्यसचिव जयप्रकाश भट्टराईलगायत खेलाडी नेपालगञ्ज आइसकेका छन् । शनिबारसम्म आयोजना हुने प्रतियोगितामा पुरुष एकल खुला, पुरुष युगल, महिला एकल, पुरुष युगल र पैँतालीस प्लस भेट्रान्स डबल्स विधामा प्रतिस्पर्धा गराइने आयोजक सङ्घका उपाध्यक्ष मीनबहादुर मल्लले बताए ।

उनका अनुसार पुरुष एकलतर्फ प्रथम हुनेलाई ७० हजार, द्वितीय हुनेलाई ३५ हजार, तृतीय हुनेलाई १५–१५ हजार, महिला एकलतर्फ प्रथमलाई ६० हजार, द्वितीयलाई ३० हजार र तृतीयलाई १५–१५ हजार, पुरुष युगलतर्फ प्रथमलाई ५० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५–१५ हजार प्रदान गरिने छ ।

पुरुष युगल (बि लेभल) तर्फ प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीयलाई १०–१० हजार र पुरुष युगल (भेट्रान्स पैँतालीस प्लस) तर्फ प्रथम हुनेलाई ३० हजार, द्वितीयलाई २० हजार र तृतीय हुनेलाई १०–१० हजार प्रदान गरिने सङ्घले जनाएको छ ।

“यस प्रतियोगितामा देशमै आयोजित व्याडमिन्टन प्रतियोगिताको भन्दा बढीको पुरस्कार राशि व्यवस्था गरेका छौँ, उपाध्यक्ष मल्लले भने । प्रतियोगिता आयोजनाका लागि ३१ लाख २७ हजार लागत अनुमान गरिएकामा प्रदेश खेलकुद परिषद्ले पनि केही सहयोग गर्ने उनको भनाइ थियो ।

सङ्घका अध्यक्ष थापाले प्रतियोगिताले नेपालगञ्जमा ब्याडमिन्टनतर्फ आकर्षकण बढ्ने विश्वास व्यक्त गर्दै नयाँ खेलाडी तयार गर्न बालबालिकाहरूलाई सानैदेखि खेल्ने वातावरण तयार गर्नुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर