राष्ट्रीय महत्वका आयोजनाको डिजाईनमा छलफल नहुदा नेपाल पछाडी पर्यौ

Posted By OSNepal, California, USA || Date: 11 February, 2018

लेखक : सुर्यराज आचार्य ( प्रवक्ता : विवेकशील साझा दल ) 

विकाश भिजन
१९६० को दशकमा द कोरियाले देशको आर्थिक रुपान्तरणको वाहक मानिएका ठुला पूर्वाधार आयोजना मध्येको सोयाङ जलविद्युत परियोजनाको जापानिज कन्सल्टिङ कम्पनि ‘निप्पोन कोई’ ले तयार पारेको शुरु डिजाईनमा कंक्रिट ड्याम थियो। ठुलो लगानिको मेगा प्रोजेक्ट भएकोले तत्कालिन राष्ट्रपति चुङ हि पार्कको चासो हुने नै भयो।

कंक्रिट ड्याम तुलनात्मक रुपमा महँगो हुने, सिमेण्ट लगायतका सामाग्री विदेशबाट आयात गर्नु पर्ने हुँदा विदेशी मुद्रा संचितिमा प्रतिकुल प्रभाव पर्ने, विदेशी ठेकेदार बाट काम गराउनु पर्ने जस्ता मुद्दा राष्ट्रपति चुङ हि पार्कका चासोका कुरा थिए।

केहि साना कोरियन ठेकेदारसंगको सल्लाह र प्रारम्भिक प्रविधिक मुल्याङ्कन पछि उनले सो बाँध ढुङ्गा-माटो (रक-फिल) को बनाउने प्रस्ताव गरे। यसो गर्दा लागतमा ३०% कम हुने र कोरियन कम्पनिले नै बनाउन सक्ने हुन्थ्यो, जुन कुरा कोरियाको हितमा थियो। तर जापानी कन्सल्टिङ कम्पनि निप्पन कोईले प्राविधिक हिसाबले कंक्रिट ड्याम नै चाहिने ढिपी गर्यो।

पार्कले अन्य देशको अनुभव समेत हेरेर रक-फिल ड्यामको संभाव्यता अध्ययन गर्न भने, र अन्त्यमा यो संभव देखियो। १९६७ मा शुरु भै १९७३ मा कोरियन कम्पनिले १२३ मीटर अग्लो सोयाङ ड्यामको निर्माण सम्पन्न गरे। यो आयोजना निर्माणका सिलसिलामा कोरियन निर्माण कम्पनि र प्राविधिकहरुको क्षमता उल्लेख रुपले वृद्धि भयो।

ठूला पूर्वाधार निर्माणबारेको निर्णयमा राजनीतिज्ञको भिजन कति महत्वपूर्ण हुन्छ भन्ने कुरा यो उदाहरणमा देख्न सकिन्छ। विदेशी कन्सल्ट्याण्टले तयार पारेका हाम्रा राष्ट्रिय महत्वका अायोजनाको डिजाईन राजनीतिक तहमा त कुरै छाडौं प्राज्ञिक/प्रविधिक तहमा समेत गंभिर समीक्षा/छलफल हुँदैन।

डिजाईनको मिहिन चेक/जाँच र समीक्षा बिना सरकारले सम्झौता गर्छ, अनि बल्ल वहस शुरु हुन्छ। यस्तो वहस समाधानमा टुङ्गिने भन्दा पनि अायोजना गिजोलिने तहमा सिमित हुन्छ। यस्तो प्रचलन जतिसक्दो छिटो सच्चिन जरुरी छ। हाम्रा नेताहरुले पनि विदेशका यस्ता अनुभवबाट पाठ सिकेमा क्या गज्जब हुन्थ्यो !

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!