इलामको पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन — OSNepal

इलामको पशुपतिनगर भन्सारद्वारा एक करोड ३४ लाख राजस्व सङ्कलन

LC (KTM) January 27, 2024 0

इलाम, १३ माघ ः इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷८१ को पुससम्ममा रु एक करोड ३४ लाख १३ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो । आव २०८०÷८१ मा भन्सारले रु एक करोड ९१ लाख ७१ हजार राजस्व सङ्कलनको लक्ष्य लिएको थियो ।

यसैगरी आव २०७७÷७८ मा रु एक करोड ८९ लाख ९९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले रु एक करोड दुई हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिनुभयो । यस्तै आव २०७८÷७९ मा रु दुई करोड ५३ लाख ४० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा रु ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजस्व सङ्कलन भएको थियो । सुब्बाका अनुसार, २०७९÷८० मा रु दुई करोड ५० लाख ८५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा दुई करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजस्व सङ्कलन गरियो ।

कार्यालयका नायब सुब्बा विनोद आचार्यकले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व सङ्कलन भएको बताउनुभएकोे छ । पशुपतिनगर भन्सारअन्तर्गत आठ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन् । “हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न थालेको छ ।” आचार्यले भन्नुभयो ।

कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताउनुभयो । भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिनुभयो । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेनटाइनलगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताउनुभयो ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै देशले सीमा क्षेत्रमा आवश्यक कार्यालय स्थापना गरेर आयात निर्यात सहज बनाउनुपर्ने बताउनुभयो । उहाँले भौगोलिक विकटताका कारण कार्यालय स्थापना गर्न सकिएन भन्ने भारतको भनाइमा सत्यता नरहेको बताउनुभयो। कार्यालय प्रमुख सुब्बाले खुला सीमानाका भएका कारण चोरी पैठारी रोकिन नसकेको बताउनुभयो ।

कार्यक्रममा सबैभन्दा बढी कारोबार गर्ने सूर्योदय–२ पशुपतिनगरका दादिकी शेर्पालाई सम्मान गरिएको थियो । उक्त अवसरमा कार्यालयका नायब सुब्बाद्वय विनोद आचार्य र प्रकाश सुन्दासलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । भन्सार दिवसको उपलक्ष्यमा पहिलो सेवाग्राहीका रूपमा भारतको दार्जिलिङका दावानर्बु शेर्पालाई सम्मान गरेको नायब सुब्बा आचार्यले जानकारी दिनुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म पशुपतिनगर र इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई राजस्व सङ्कलनमा सहयोग गरेको भन्दै कदरपत्र प्रदान गरिएको छ । ७२ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा कार्यालयले अर्थवार्षिक नतिजासहित तीन वर्षको प्रगति सार्वजनिक गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर