भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ — OSNepal

भरतपुरमा विद्यार्थीसँग मेयर कार्यक्रमको शुभारम्भ

LC (KTM) January 27, 2024 0

चितवन, १३ माघ : चितवनको भरतपुर महानगरपालिकाले ‘विद्यार्थीसँग मेयर कार्यक्रम’को शुभारम्भ गरेको छ । महानगरपालिका–२७ स्थित जानकी माध्यमिक विद्यालयबाट कार्यक्रमको शुभारम्भ गरिएको हो ।

महानगरपालिकाले पहिलो पटक सञ्चालनमा ल्याएको विद्यार्थीसँग मेयर कार्यक्रमको शुक्रबार महानगर प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो । विद्यालय परिसरमा विद्यार्थीसँग मेयर कार्यक्रमअन्तर्गत स्थानीय सरकार र जनप्रतिनिधिसँग विद्यार्थीको धारणा, अपेक्षा, समस्या, सेवा प्रवाहबाट विद्यार्थी सन्तुष्ट भए नभएको पहिचान गर्न कार्यक्रम सुरु गरिएको हो । यस आर्थिक वर्षमा केही नमूना विद्यालयमा विद्यार्थीसँग प्रत्यक्ष कुराकानी एवं संवाद गरिने छ ।

कार्यक्रमले विद्यार्थीको मनोबल उच्च हुने, शैक्षिक गुणस्तर वृद्धि हुने, समस्याको छिटोभन्दा छिटो समधान गर्न सकिने महानगरपालिकाका प्रमुख दाहालले बताउनुभयो । विद्यालयको सुधारका लागि पर्याप्त मात्रामा भौतिक पूर्वाधार निर्माण भइसकेकाले आगामी दिनमा विद्यार्थीको मागअनुसार नै शैक्षिक गतिविधि अगाडि बढाउने गरी यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो ।

शिक्षा क्षेत्रमा ठूलो लगानी गरी सकेको भरतपुर महानगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिँदै आएको छ । जानकी माध्यमिक विद्यालयमा प्रमुख दाहालसँग जिज्ञासा राख्ने विद्यार्थीले भएका पूर्वाधारलाई व्यवस्थित ढङ्गबाट प्रयोगमा नल्याएको गुनासो गरेका थिए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले स्थानीय पाठ्यक्रममा प्रमुख, उपप्रमुख, स्थानीय सरकार, जनप्रतिनिधिबारे उल्लेख गरेअनुरुप विद्यार्थीलाई प्रयोगात्मक ज्ञान दिन कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर