व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै ‘तनहुँका घले’ — OSNepal

व्यक्तिगत लगानीमा जीर्ण पाटीको संरक्षण गर्दै ‘तनहुँका घले’

LC (KTM) January 28, 2024 0

तनहुँ, १४ माघ : तनहुँको सदरमुकाम दमौलीस्थित सेती र मादीको सङ्गमस्थल नजिकै दमौलीघाट पर्छ । घाट जाने बाटो छेउमा कलात्मक बुटाले कुदिएको जीर्ण अवस्थामा एउटा पाटी छ । जुन व्यास नगरपालिका–३ स्थित देउराली नगरमा पर्छ ।

उक्त पाटी विसं २००७ मा निर्माण गरिएको तथ्य फेलापरेको छ । हिजोआज सम्पदाका रूपमा रहेका पाटीपौवा र ठाँटी उचित संरक्षण अभावमा लोप हुँदै गएका छन्। । लोपोन्मुख अवस्थामा पुगेको यो पाटीको संरक्षणमा तनहुँका एक व्यक्ति आफ्नो व्यक्तिगत लगानीमा मर्मतसम्भार कार्यमा लाग्नुभएको छ । जिल्लाको व्यास नगरपालिका–४ निवासी आइतबहादुर घले निजी खर्चमा पाटी संरक्षणमा लाग्नुभएको हो ।
इतिहास मेटिनु हुँदैन, संरक्षण गरेर राख्नुपर्छ भन्ने सोचका साथ आफू यसको संरक्षणमा जुटेको घलेले बताउनुभयो । सम्बन्धित वडा कार्यालय र नगरपालिकालाई पाटीको संरक्षण गर्न आग्रह गरे पनि बेवास्ता गरेपछि आफूमा भित्रैदेखि इच्छा जागेर आएको उहाँले बताउनुभयो ।

“आफूले गर्ने व्यक्तिगत र घरखर्चमा मितव्ययीता अपनाएर भए पनि पाटी संरक्षण गर्ने अठोटका साथ अघि बढेको हुँ”, उहाँले भन्नुभयो । स्थानीय टोल विकास संस्था, व्यास नगरपालिकाबाट स्वीकृति लिएर मर्मतसम्भारको काम थालेको छु, “करिब एक साताको अवधिमा जीर्ण बनेको पाटीलाई हेर्नलायकको बनाउनेछु ।” पाटीमा रहेका पुराना संरचना र कलालाई नबिगारीकन मर्मतसम्भार गरी संरक्षण गर्न लागिएको हो ।।

पृथ्वीराजमार्ग सडकखण्डमा पर्ने घाँसीकुवा पारिपट्टि व्यास–११ मा अहिले पनि नहर्की बस्ती छ । उक्त पाटी त्यो समयमा नहर्की समुदायले बनाएका थिए । उक्त स्थानमा रहेको पाटी जीर्ण बनेकाले भत्काएर काठ ल्याई पुनः दमौलीघाट नजिक पाटी निर्माण गरिएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर