सूयविनायक–धुलिखेल छ लेन सडक विस्तारको काम सुस्तायो, एक वर्षमा २० प्रतिशत मात्रै प्रगति — OSNepal

सूयविनायक–धुलिखेल छ लेन सडक विस्तारको काम सुस्तायो, एक वर्षमा २० प्रतिशत मात्रै प्रगति

LC (KTM) February 08, 2024 0

भक्तपुर, २५ माघः अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर लामो सडक छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार ३६ महिनाभित्र सम्पन्न गर्न छुट्टाछुट्टै दुई चरणमा सडक विस्तार सुरु गरिएको एक वर्ष बितिसक्दा करिब २० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।

विसं २०७९ पुस २४ गते आशिषकुमार श्रेष्ठ वन्दना भगवती जेभी र लामा कन्स्ट्रक्सन कम्पनी प्रालिले दुई खण्डमा गरी तीन वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरेका थिए । सडक विस्तार गर्न सात दशमलव पाँच किमी लामो सूर्यविनायक–साँगा सडकखण्डका लागि रु तीन अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि रु चार अर्ब पाँच करोड ६४ लाखमा ठेक्का सम्झौता भएको थियो ।

सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तार बजेट अभावका कारणले सुस्ताएको आयोजनाको भनाइ छ । सडक विस्तारका क्रममा रहेका अस्थायी घरटहरा र संरचना भक्तपुर जिल्ला प्रशासन कार्यालय र सूर्यविनायक नगरपालिकाको सहयोगमा भत्काउने काम भएको आयोजना प्रमुख राजेन्द्रप्रसाद दास बताउनुहुन्छ ।

अस्थायी तथा स्थायी संरचनाले सडक विस्तारमा अवरोध पुग्ने गरेकाले बीचबीचमा काम छाड्दै अगाडि बढ्नुपरेको र स्थायी संरचना हटाउनेबारेमा छिटो निर्णय गर्न सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको उहाँको भनाइ छ । आयोजना प्रमुख दास भन्नुहुन्छ, “रु आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको हो, तर यस वर्ष सरकारले रु ५४ करोड अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ, यस्तो अवस्थामा काम गर्न गाह्रो हुन्छ, सरकारले निरन्तर बजेट पठाए काम तीव्रगतिमा हुन्छ ।” बजेट माग गर्दै आयोजना प्रमुखलगायत कर्मचारी भौतिक पूर्वाधार मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म धाइरहेका र बजेट आउने आश्वासन भने आइरहेको बताइएको छ ।

प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सूर्यविनायकबाट साँगासम्मका अस्थायी संरचनाका साथै घरटहरा हटाउने काम भइरहेको बताउनुहुन्छ । सूर्यविनायक नगरपालिकाको समन्वयमा अस्थायी संरचना हटाउने काम भइरहेको र स्थायी संरचना हटाउन भने प्रतिवेदन र मूल्याङ्कनको प्रतिक्षामा रहेको उहाँको भनाइ छ ।

स्थायी टहरा हटाउनेबारेमा जिम्मेवार निकायबाट प्रतिवेदन आउने र त्यस्ता संरचनाको मूल्याङ्कनसहितको मुआब्जा दिनेबारेमा निर्णय भएर प्रक्रिया अगाडि बढेपछि स्थायी संरचना पनि हटाइने भएको छ ।

प्रजिअ श्रेष्ठ भन्नुहुन्छ, “यो सडकखण्डमा अस्थायी संरचना, घरटहरा ५३ वटा रहेको छ, त्यो हटाउने कार्य भएको छ । यो सडकमा ७८ वटा स्थायी संरचना छन्, त्यो हटाउन मूल्याङ्कनसहितको प्रतिवेदन आउन बाँकी छ, अहिले बजेट न्यून आएकाले सडक विस्तार सुस्ताएको छ, बजेट छिटो आएमा सडकको गाह्रो काम बर्खाअगाडि नै सकिन्छ ।”

सडक निर्माणको अवस्था बुझ्न बागमती प्रदेशसभा सदस्य किरण थापासहितको टोलीसँग पटक–पटक सडकको अनुगमन गरिरहेको उहाँ बताउनुहुन्छ । बर्खा अगाडि नै जगातिबाट साँगासम्मको सडकखण्डअन्तर्गतका अप्ठ्यारो काम नसके सडक विस्तारमा कठिनाइ हुने भएकाले यसतर्फ आयोजना र सरकारले ध्यान दिनुपर्नेमा बागमती प्रदेश सभासदस्य थापा जोड दिनुहुन्छ ।

सूर्यविनायक नगरपालिकातर्फ सडक विस्तारको क्रममा कुनै समस्या आउँदा सूर्यविनायकबाट साँगासम्म नगरपालिकासहितको सहयोगमा समस्या समाधान गरेर अगाडि बढ्दै आएको उहाँ बताउनुहुन्छ । प्रदेशसभा सदस्य थापा भन्नुहुन्छ, “नगरपालिका र स्थानीयवासीबाट समस्या हुँदैन, आएका समस्या हामी सुल्झाउँछौँ, तर सरकारले बजेट नपठाएपछि आयोजनाको काम सुस्ताएको छ, बर्खा अगाडि नै अप्ठ्यारा ठाउँमा काम नसके समस्या आउँछ, त्यसैले छिटो काम गर्नु आवश्यक छ ।”

यो सडकमा पुल थप निर्माण गर्नुपर्ने भएको र यसका लागि रु एक अर्ब लाग्ने आयोजनाको अनुमान छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाति र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ । यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ ।

साँगामा समस्या मानिएको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ । उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर डबल लेनकोे योजना अघि बढाइने जनाइएको हो । यस्तै प्रतिवेदनअनुसार यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने भएको छ ।

राजमार्गको मापदण्डअनुसार हाल भवन तथा जग्गाको लगत सङ्कलन भएको छ । सडकको बीचबाट दायँबायाँ २५–२५ मिटरको मापदण्डअनुसार कार्यालयले राजमार्गअन्तर्गत पर्ने चार नगरलाई सहयोगका लागि पत्राचार गरेको थियो ।

विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत कायम गर्यो । यही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको बताइन्छ ।

सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भए यो सडकखण्डमा अझै सवारीसाधनको चाप बढ्ने पक्का छ । हाल कोटेश्वरबाट लामा दूरीका सवारीसाधन मात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ ।

सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार हुन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आउजाउ गर्दै आएका छन् ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर