सुन्तला बिक्रीबाट वार्षिक १० लाख आम्दानी गर्दै अधिकारी — OSNepal

सुन्तला बिक्रीबाट वार्षिक १० लाख आम्दानी गर्दै अधिकारी

LC (KTM) February 09, 2024 0

भोजपुर, २६ माघ : सुन्तला बिक्रीबाट यहाँका किसानले मनग्य आम्दानी गर्दै आएका छन् । भोजपुरको टेम्केमैयुङ–३ अन्नपूर्णका किसान बद्रीप्रसाद अधिकारीले सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आउनुभएको छ ।

त्रिचालिस वर्षअघिदेखि ३३ रोपनी क्षेत्रमा व्यावसायिकरुपमा सुन्तलाखेती गर्दै आउनुभएका किसान अधिकारीले आफ्नो बगानमा रहेका तीन सय ७५ बोट सुन्तलाले आम्दानी दिँदै आएको जानकारी दिनुभयो । “मैले विगत ४३ वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएको छु”, उहाँले भन्नुभयो, “सुन्तला बिक्रीबाट रु १० लाख वार्षिक आम्दानी हुन्छ । यसबाट भएको आम्दानीले दुई छोरालाई इञ्जिनियर र एक छोरीलाई बैंकको जागिरे बनाएको छु । मेरो मुख्य आम्दानीको स्रोत सुन्तला बनेको छ ।”

विगतमा यहाँका स्थानीय बजारमा मात्र बिक्री हुने भन्दै अधिकारीले पछिल्लो समय सडक विस्तारका कारण बिक्री वितरणमा सहज बनेको बताउनुभयो । अहिले बगानबाट नै धरान, इटहरी, विराटनगरलगायतका सहरमा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाएका हुन् । उत्पादित सुन्तलाको बिक्रीका लागि बजारको समस्या नभएको उहाँको भनाइ थियो ।

एकपटक हुर्काएपछि सुन्तलाखेती दिगो आम्दानीको स्रोत बन्ने अधिकारीले बताउनुभयो । एक पटक बिरुवा हुर्किसकेपछि एक सय वर्षसम्म लाभ लिन सकिने भएकाले भविष्यको पनि राम्रो आम्दानीको स्रोत बन्ने उहाँको भनाइ छ । “सुन्तलाखेती भविष्यको राम्रो आम्दानीको स्रोत हो”, उहाँले भन्नुभयो, “एक पटक बिरुवा हुर्काएपछि लामो समयसम्म निरन्तर आम्दानी हुन्छ । सामान्यरुपमा बगानको हेरचाह मात्र गरे हुन्छ, धेरै दुःख गर्न पर्दैन ।”

व्यावसायिक सुन्तलाखेतीमा लाग्नुभएका अधिकारी जिल्लाको एक उदाहरणीय किसान बन्नुभएको छ । आफँैले बिक्री गर्न ठूला बजारसम्म लैजानसके हालकोभन्दा राम्रो मूल्य लिन सकिने उहाँको भनाइ छ । सिँचाइ तथा आधुनिक प्रविधिको विकासमा जोड दिनसके अझ राम्रो आम्दानी गर्न सकिने किसान अधिकारीको भनाइ छ । पछिल्लो समय यो क्षेत्रका धेरै युवा व्यावसायिक सुन्तलाखेती विस्तारमा जुटेको उहाँले बताउनुभयो ।

कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको टेम्केमैयुङ गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । गाउँपालिकाले यहाँका किसानलाई लक्षित गरेर प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “यहाँको माटो सुहाउँदो बालीमा जोड दिएका छौँ । गाउँपालिकालाई कृषिमा आत्मानिर्भर बनाउने लक्ष्यका साथ अघि बढेका छौँ ।”

किसानलाई बहुवर्षीय बालीखेतीका लागि प्रोत्साहन गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो । किसानको आवश्यकतालाई ध्यानमा राखेर सुन्तला, किबीलगायत खेतीमा जोड दिइएको उहाँको भनाइ छ ।

“हामीले कृषिलाई व्यावसायिक बनाउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “बहुवर्षीय बालीको खेती विस्तारमा जोड दिएका छौँ । किसानलाई आवश्यकताका आधारमा विभिन्न सहयोग गर्दै आएका छौँ । कृषिलाई व्यावसायिक बनाएर यहाँको आम्दानीको स्रोतका रुपमा जोड्ने हाम्रो लक्ष्य छ ।”

सुन्तलाखेती विस्तारका लागि बर्सेनि बिरुवा वितरण गर्दै आइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । यहाँका साविक ९, ४, ५, ६ ८ वडाका करिब दुई सय घर परिवार सुन्तलाखेतीमा आबद्ध रहेको उहाँको भनाइ छ ।

“यहाँका अधिकांश किसानले सुन्तलाखेती गर्दै आएका छन्”, वडाध्यक्ष राईले भन्नुभयो, “खेती विस्तारमा जोड दिन किसानलाई बर्सेनि बिरुवा वितरणसँगै आवश्यक सहयोग गर्दै आएका छौँ । सुन्तला किसानको राम्रो आम्दानीको स्रोत बनेको छ ।”

कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम अघि बढाएकोे गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । यहाँका नगदेबालीसँगै, कृषि तथा पशुपालनमा लागेका किसानलाई प्रोत्साहन गर्ने योजना रहेको उहाँको भनाइ छ ।

यहाँका नौवटै स्थानीय तहमा सुन्तला उत्पादन हुन्छ । विशेष गरेर टेम्केमैयुङ गाउँपालिकाको खावा केराबारी, अन्नपूर्ण, छिनामखु, कोट, गोगनेसँगै भोजपुर नगरपालिकाको दावा, बोमिख, पोखरे, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गरेको छ ।

सुन्तलाको खेतीका लागि पूर्व उत्तर फर्केको जमिन उपयुक्त हुने किसानको भनाइ छ । सुन्तला विषेश गरेर समुन्द्री सतहबाट एक हजारदेखि बाह्र सय मिटरसम्मको उचाइमा राम्रो फस्टाउने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर