लुक्लाबाट विराटनगर ‘माउन्टेन’ उडान हुन्छ : मुख्यमन्त्री कार्की — OSNepal

लुक्लाबाट विराटनगर ‘माउन्टेन’ उडान हुन्छ : मुख्यमन्त्री कार्की

LC (KTM) February 29, 2024 0

सल्लेरी (सोलुखुम्बु), १७ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सगरमाथा क्षेत्रबाट प्रदेश राजधानीको विराटनगरमा माउन्टेन उडान भर्ने बताउनुभएको छ । आज रासससँग कुरा गर्दै उहाँले सगरमाथा क्षेत्रलाई प्रदेश राजधानीसँग जोड्न छिट्टै विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने बताउनुभयो ।

विश्वको सवोच्च शिखर सगरमाथा क्षेत्रलाई प्राथमिकतामा राखेर थप पर्यटन प्रवर्द्धनका लागि विराटनगर–लुक्ला माउन्टेन फ्लाइट सुरु गर्ने योजना रहेको जनाउँदै मुख्यमन्त्री कार्कीले उक्त योजना छिट्टै कार्यान्वयनमा आउने बताउनुभयो । “खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ”, उहाँले भन्नुभयो, “यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ ।”

सगरमाथा क्षेत्रलाई उपयोग गरे पनि यसको संवर्द्धन गर्न राज्यले नसकेको मुख्यमन्त्री कार्कीको भनाइ थियो । खुम्बुको पर्यटन विकासका लागि आगामी मे २९ तारिख ‘सगरमाथा दिवस’ मनाउन आफूसहितको समूह सगरमाथा क्षेत्र पुग्ने उहाँले जानकारी दिनुभयो । प्रदेशमा अवस्थित विश्वको शिरलाई प्रवर्द्धन गर्न प्रदेश सरकार सदैव तयर रहेको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर