सन्दुक रुइत नेतृत्वको टोलीद्वारा ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको शल्यक्रिया — OSNepal

सन्दुक रुइत नेतृत्वको टोलीद्वारा ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको शल्यक्रिया

LC (KTM) March 02, 2024 0

फुङ्लिङ (ताप्लेजुङ)- वरिष्ठ नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत नेतृत्वको टोलीले ताप्लेजुङमा एक सय ५४ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । सदरमुकाम फुङ्लिङमा बुधबारदेखि सञ्चालित तीनदिने निःशुल्क आँखा शिविरमा मोतिविन्दुका रोगीको आँखाको शल्यक्रिया गरिएको हो ।

डा रुइतको प्रत्यक्ष संलग्नतामा मोतिविन्दु भएका व्यक्तिको आँखाको शल्यक्रिया गरिएको हो । नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङको आयोजना तथा तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा आँखा शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति सङ्घ ताप्लेजुङका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा बालबालिकादेखि ८० वर्षभन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकको आँखाको शल्यक्रिया गरिएको थियो । बिहीबार एक सय दुई र शुक्रबार ५२ आँखाका बिरामीको शल्यक्रिया गरिएको छ । मोतिविन्दुको शल्यक्रिया गरिएका बिरामीलाई चस्मा र आवश्यक औषधि पनि निःशुल्क वितरण गरिएको नेत्रज्योति सङ्घ शाखाका उपसभापति खगेन्द्र अधिकारीले बताउनुभयो । उहाँका अनुसार सदरमुकाममा सञ्चालित आँखा शिविरलाई लक्षित गरी गाउँ–गाउँमा पुगेर मोतिविन्दु भएका रोगीको छनोट गरिएको थियो ।

शिविरमा जिल्लाभित्र र पाँचथर तथा तेह्रथुमबाट बिरामी आएर सेवा लिएको नेत्रज्योति सङ्घका शाखा सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । शिविरमा एक हजार तीन सय २७ जनाले आँखा परीक्षण गराएका थिए । आँखा परीक्षण गराउनेमा पाँच सय ४६ पुरुष र सात सय ८१ महिला छन् । उल्लेख्य सङ्ख्यामा बालबालिकाले पनि शिविरमा आँखा परीक्षण तथा उपचार सेवा प्राप्त गरेको नेत्रज्योति सङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर