कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने — OSNepal

कोहलपुरमा घोङी खाने प्रतियोगिता : ४ मिनेटमा एक किलो घोङी खानुपर्ने

LC (KTM) March 03, 2024 0

नेपालगञ्ज, २० फागुन : आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने ध्येयले बाँकेको कोहलपुरमा घोङी खाने प्रतियोगिता हुने भएको छ । नेपाल युवा परिषद् लुम्विनी प्रदेशस्तरीय युवा सम्मेलनका अवसरमा घोङीको व्यावसायीकरण र ‘ब्रान्डिङ’ गर्न प्रतियोगिता हुन लागेको हो ।

घरबास (होमस्टे) सङ्घका महासचिव कृष्ण चौधरीले प्रतियोगितामा घोङी खाने तरिका र शैलीबारेसमेत जानकारी दिइने जानकारी दिनुभयो । उहाँले प्रतियोगितामा चार मिनेटमा एक किलो घोङी खानुपर्ने प्रावधान राखिएको बताउनुभयो । दुई सय पाँचजना प्रतियोगी सहभागी हुने सो प्रतियोगितामा ४० किलो घोङी खपत हुने बताइएको छ । “हामीले घोङी कसरी खाएको भन्ने विषयमा मूल्याङ्कन गर्न टिम बनाएका छौँ”, उहाँले भन्नुभयो ।

महासचिव चौधरीले होमस्टे पनि युवाहरूका लागि अध्ययनको विषय भएको उल्लेख गर्दै यसलाई संस्कार, संस्कृति र पर्यटनसँग जोड्न खोजिएको बताउनुभयो । होमस्टेबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको जनाउँदै उहाँले युवाहरूले हेरेर पनि सीप सिक्न सक्ने उल्लेख गर्नुभयो ।

आइतबारदेखि तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा रैथाने एवं परम्परागत खानाका परिकारको प्रदर्शनी, रैथाने खाद्यान्न बीउको प्रदर्शनी, जीन बैंक अवलोकन तथा अध्ययनको विषयलाई पनि प्राथमिकता दिइएको छ ।नेपाल युवा परिषद्का संस्थापक अध्यक्ष सरोज बानियाँले सम्मेलनलाई पर्यटन र संस्कृतिसँग जोड्न खोजिएको उल्लेख गर्दै सम्मेलनमा करिब रु आठ लाख ५० हजार खर्च हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर