प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने — OSNepal

प्रिमनसुन अवधि सुरुः आज देशभर बदली हुने

LC (KTM) March 03, 2024 0

काठमाडौँ, २० फागुन : नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो ।हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो ।

मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ । सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने लामिछानेले बताउनुभयो । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने लामिछानेले जानकारी दिनुभयो । आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उहाँको भनाइ छ ।

काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर