नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा — OSNepal

नेशनल टी–२० च्याम्पियनसिपः सुदूरको टोली घोषणा

LC (KTM) March 03, 2024 0

बैतडी, २० फागुन : यही फागुन २२ गतेदेखि विराटनगरमा सञ्चालन हुने कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ । हेमन्त धामीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार टोली उपकप्तानमा दीपक बोहरा, अन्य सदस्यमा दीपकचन्द ठकुरी, नरेन भट्ट, नरेन साउद, खडक बोहरा, शेर मल्ल, टेक रावत, अभिषेक पाल, दीपक बोहरा, भोजराज भट्ट, किरन ठगुन्ना, बसन्त कार्की र नारायण जोशी रहेका छन् ।

साथै विकास आग्री, युवराज खत्री, सञ्जय बोहरा र प्रकाश पाण्डेय वैकल्पिक खेलाडीका रूपमा छनोट भएका जोशीले बताउनुभयो ।

धनगढीको फाप्ला मैदानमा तीन दिनसम्म सञ्चालन गरिएको बन्द प्रशिक्षणमा उत्कृष्ट प्रदर्शन गरेका आधारमा खेलाडी छनोट गरिएको सङ्घले जनाएको छ । नेपाल ‘ए’ समूह, यु–१९ विश्वकप, प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीसहितको टोली रहेकाले उच्च मनोबलका साथ मैदानमा उत्रने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष जोशीले बताउनुभयो ।

क्रिकेट सङ्घ मोरङको आयोजनामा फागुन २२ गतेदेखि विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालामा प्रतियोगिता सञ्चालन हुनेछ । तीन विभागीय र सात प्रदेशस्तरीय टिमको सहभागिता रहने खेल आगामी चैत ३ गतेसम्म सञ्चालन हुनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ ।

समूह ‘क’मा त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, कोशी, मधेस र कर्णाली प्रदेश तथा समूह ‘ख’मा नेपाल पुलिससहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । उपाधि विजेता टिमले ट्रफिसहित रु पाँच लाख र उपविजेताले रु तीन लाख नगद पुरस्कार पाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर