‘मुलुकको विकासका लागि साझा एजेण्डा आवश्यक :अध्यक्ष ढकाल — OSNepal

‘मुलुकको विकासका लागि साझा एजेण्डा आवश्यक :अध्यक्ष ढकाल

LC (KTM) March 03, 2024 0

पर्वत, २० फागुन : नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताउनुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उहाँले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताउनुभयो ।

अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योग, कलकारखाना खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकाससँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

वाणिज्य महासङ्घका अध्यक्ष ढकालले कोभिड–१९, रसिया–युक्रेन युद्धका साथै सरकारको आर्थिक नीतिका कारण अर्थतन्त्र धरासायी बनेको भन्दै अब भने सुधार हुँदै जाने बताउनुभयो । “जति बिग्रिने हो त्यति बिग्रिसकेको छ । अब अर्थतन्त्र चलायमान हुँदै गएकाले यो क्षेत्र सुधार हुन्छ”, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले उद्योग वाणिज्य महासङ्घको निरन्तरको दबाबपछि राष्ट्र बैंकले ब्याजदर घटाएको स्मरण गराउँदै निजी क्षेत्रको विकास र व्यावसायीको हितका लागि महासङ्घले काम गर्दै आएको बताउनुभयो । पर्वतको विकासको लागि लगानीमैत्री वातावरण बनाउने सङ्कल्प गर्नुपर्ने उहाँको भनाइ छ ।

अध्यक्ष ढकालले तीन तहका सरकारका बीच समन्वय नहुँदा लगानीकर्ता र व्यवसायीले उल्झन व्यहोर्नुपरेको उल्लेख गर्दै उपयुक्त समय भएमा एक वर्षमै लगानीको क्षेत्रमा ठूलो उपलब्धि हासिल हुने विचार व्यक्त गर्नुभयो । पर्यटनको हिसाबले पर्वत उत्कृष्ट जिल्ला बन्दै गएको उहाँले बताउनुभयो ।

अध्यक्ष ढकालले पर्वत पर्यटन, जलविद्युत् र धार्मिक क्षेत्रमा अथाह सम्भावना बोकेको जिल्ला भएको उल्लेख गर्दै यस क्षेत्रमा लगानी बढाउन सकेमा रोजगार सिर्जना हुनुका साथै जिल्लाको समृद्धिमा टेवा पुग्ने बताउनुभयो । उहाँले पर्वतको विकासका लागि गुरुयोजना तयार गर्न आग्रह गर्दै आफूले साझेदारी गर्न तयार रहेको बताउनुभयो । सङ्घको १८औँ अधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर