ऊर्जामन्त्री बस्नेतसँग एमसिसीका उपाध्यक्षको शिष्टाचार भेट — OSNepal

ऊर्जामन्त्री बस्नेतसँग एमसिसीका उपाध्यक्षको शिष्टाचार भेट

LC (KTM) March 03, 2024 0

काठमाडौँ, २० फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा निर्माण हुने प्रसारण लाइनलगायत आयोजनालाई गति दिन सरकारले आवश्यक सहजीकरण गरिरहेको बताउनुभएको छ ।

मन्त्री बस्नेतले आज साँझ आफ्नै कार्यकक्षमा एमसिसीको ‘कम्प्याक्ट अपरेसन’का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सलाई उक्त जानकारी दिनुभएको हो । आफूसँग शिष्टाचार भेट गर्न आउनुभएका उपाध्यक्षलाई उहाँले एमसिसीको सहयोगमा अगाडि बढाइएका प्रसारण लाइन तथा सबस्टेसन निर्माण प्रक्रियाका बारेमा भएका प्रगतिबारे जानकारी दिनुभएको थियो । उहाँले प्रसारण लाइन निर्माण तथा सडक पूर्वाधार निर्माणका लागि सरकारका तर्फबाट आवश्यक सहयोग भइरहेको बताउनुभयो ।

नायब उपाध्यक्ष ब्रुक्सले एमसिसीको सहयोगमा सञ्चालन हुने आयोजनाका समग्र पक्षबारे बताउँदै तिनको कार्यान्वयन गरिने जानकारी दिनुभएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

एमसिसी नेपाल कम्प्याक्ट कार्यान्वयनमा भएको प्रगतिलगायत विषयमा छलफल गर्न नायब उपाध्यक्ष बु्रक्स नेपाल भ्रमणमा आउनुभएको हो । उहाँको भ्रमणले नेपाल र अमेरिकाबीचको ७७ वर्ष लामो द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

एमसिसीको सहयोगमा कूल तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ । त्यसनिम्ति लप्सीफेदी–रातमाटे–हेटौँडासम्मको एक सय १७ किलोमिटर, रातमाटेदेखि दमौलीसम्मको ९० किलोमिटर र दमौलीदेखि बुटवलसम्मको ९० किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ ।

यस्तै, बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किलोमिटर बराबरको प्रसारण लाइन पनि निर्माण गर्ने लक्ष्य राखिएको छ । यसअघिको बोलपत्र प्रक्रिया रद्द भएसँगै नयाँ बोलपत्रको प्रक्रिया सुरु गर्न लागिएको छ ।

नेपाल सरकार र एमसिसीबीच २०७४ भदौ २९ गते हस्ताक्षर भएको थियो । सो परियोजनाका लागि एमसिसीले ५० करोड अमेकिरी डलर अनुदान उपलब्ध गराउनेछ । आयोजनामा नेपाल सरकारले १९ दशमलव सात करोड अमेरिकी डलर लगानी गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर