राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो : मुख्यमन्त्री शर्मा — OSNepal

राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा हो : मुख्यमन्त्री शर्मा

LC (KTM) March 05, 2024 0

कर्णाली, २२ फागुन : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था चौकुने गाउँपालिका–९ सुर्खेतद्वारा आज आयोजित ‘द्धिपेश्वर धार्मिक पर्यटन, ज्ञान महायज्ञ एवं धार्मिक महामहोत्सव’ शुभारम्भ गर्नुहुँदै उहाँले राजनीति र धर्म फरक देखिए पनि मर्म एउटै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “समाजमा रहेका अन्याय, अत्याचार, कुरीति, कुसंस्कार र विभेद अन्त्य गरेर मानव सेवा गर्नु नै राजनीति र धर्मको लक्ष्य हुनुपर्दछ ।”

धार्मिक र प्राकृतिक पर्यटनको प्रचुर सम्भावना रहेको कर्णाली प्रदेशमा आन्तरिक र बाह्य पर्यटक आर्कषणका लागि आवश्यक पूर्वाधार निर्माणलाई जोड दिएको बताउँदै मुख्यमन्त्री शर्माले भन्नुभयो, “कैलाश मानसरोवरलाई गन्तव्य बनाउनेगरी सर्किट तयार गनुर्पछ । कर्णाली प्रदेशका विभिन्न धार्मिक र प्राकृतिक पर्यटकीयस्थल हाम्रा सम्पदा हुन् । पयर्टन समृद्धिको माध्यम हो ।” मानिसलाई आर्थिक सम्पन्नताले सुख र सामाजिक न्यायले खुसी तुल्याउने भएकाले त्यो अवस्था निर्माणमा सरकार लागेको उहाँको भनाइ थियो ।

फरक प्रसङ्गमा उहाँले भन्नुभयो, “सरकार फेरबदल भइरहने प्रणालीबारे समयमै सोचेर जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्णसमानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुनसकेमात्र राजनीतिक स्थिरता कायम हुन्छ । अब दलहरूको बहस यता केन्द्रित हुन जरुरी छ ।”

महायज्ञमा सांसद हृदयराम थानी, सांसद नरबहादुर विष्ट, कर्णाली प्रदेशसभा सदस्य विन्दमान विष्टलगायतले मानव जीवनलाई अनुशासित र नैतिक मूल्य, मान्यताका बारेमा ज्ञान दिने कार्यक्रमले समाजलाई सभ्य एवं सुसंस्कृत बनाउने धारणा व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर