‘ट्र्याक’ खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिँदै — OSNepal

‘ट्र्याक’ खुलेको २९ वर्षपछि सडक कालोपत्र गरिँदै

LC (KTM) March 06, 2024 0

तनहुँ, २३ फागुन : गण्डकी प्रदेशको गौरव आयोजनाका रुपमा रहेको मानपुर–डेडगाउँ–बुलिङटार सडकमा मङ्गलबारदेखि कालोपत्र सुरु भएको छ । गत फागुन ७ गतेदेखि कालोपत्र गर्ने भनिए पनि प्राविधिकका कारण ढिलाइ हुन गएको पूर्वाधार विकास कार्यालय तनहँुले जनाएको छ ।‘ट्रयाक’ खुलेको २९ वर्षपछि कालोपत्र सुरु भएको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले राससलाई जानकारी दिनुभयो । मुस्ताङको कोरोलादेखि नवलपुरको त्रिवेणी जोड्ने छोटो दूरीको उक्त सडकअन्तर्गत पहिलो चरणमा तनहुँ खण्डमा कालोपत्र थालिएको उहाँले बताउनुभयो ।

जिल्लाको घिरिङ गाउँपालिका–४ मानपुरबाट सुरु भएर डेडगाउँको सिमानासम्मको ११ किलोमिटर खण्डमा सडक कालोपत्र हुनेछ । उहाँले भन्नुभयो, “पहिलो चरणमा छ किलोमिटर निरन्तर हुन्छ, बाँकी पाँच किमी एक महिनापछि गरिनेछ ।” अस्फाल्ट प्रविधिको सबैभन्दा राम्रो गुणस्तरको कालोपत्र गरिन लागेको कार्यालय प्रमुख आचार्यले बताउनुभयो । कालोपत्र कार्य अघि बढाएसँगै उक्त सडक बन्द गरिएको छ । विसं २०५१ मा ट्र्याक खुलेको उक्त मार्गमा कालोपत्र गर्न लागिएको हो ।

उक्त खण्ड स्तरोन्नतिका लागि विसं २०७७ मङ्सिर ५ गतेदेखि काम सुरु भएको थियो । भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २२ करोड ८५ लाख ४१ हजार सात सय ९३ को लागतमा कालोपत्र सुरु गरिएको आचार्यले जानकारी दिनुभयो । रु ३५ करोड १४ लाख ७४ हजार एक सय नौ लागत अनुमान गरिएकामा हेटौँडास्थित सपना निर्माण सेवाले रु १२ करोड २९ लाख ३२ हजार तीन सय १६ मा कालोपत्रको ठेक्का पाएको थियो । उक्त सडकको चौडाइ सात मिटर हुनेछ । सडकमा पाँच मिटरको कालोपत्र र एक मिटरको नाला निर्माण गरिनेछ ।

विसं २०७६ फागुन ७ गते सडक कालोपत्रको सम्झौता भएको थियो । ठेक्का भएलगत्तै नेपालमा कोरोनाको महामारीका कारण लकडाउन भएपछि निर्माण कार्य प्रभावित भएको उक्त निर्माण कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर