११७ वर्षदेखि निरन्तर बलिरहेछ एउटै बल्ब !



बिजुलीको एउटा बल्बले सामान्यतया कति वर्षसम्म काम गर्ला ? बल्ब कम्पनीले दुई–तीन वर्षको वारेन्टी दिन्छन् । तर, एउटै बल्ब ११७ वर्षदेखि निरन्तर बलिरहेको छ भन्ने सुन्दा जोसुकैलाई अचम्म लाग्ला । हो, क्यालिफोर्नियाको लिभरमोर सहरमा एउटा बल्ब ११७ वर्षदेखि बलिरहेको छ । त्यहाँको एक दमकल केन्द्रमा सन् १९०१ मा उक्त बल्ब जडान गरिएको थियो । अहिलेसम्म सो बल्ब बलिरहेको छ । चार वाट बिजुलीबाट चल्ने बल्बको फ्युज यति लामो समयसम्म गएको छैन । जबकि बल्ब चौबिसै
घण्टा बलिरहन्छ

दमकल केन्द्रमा काम गर्ने कर्मचारीका अनुसार १९३७ मा पहिलोपटक बिजुलीको लाइन बदल्दा बल्ब बन्द गरिएको थियो । तार बदलेपछि पुनः बल्ब बाल्न सुरु गरियो र अहिलेसम्म बलिरहेको छ । २००१ मा सांगीतिक कार्यक्रमका साथ पार्टी आयोजना गरेर बल्बको १००औँ जन्मदिन मनाइएको थियो ।

पछिल्लो तीन दशकयता बल्ब हेर्नका लागि कैयौँ मान्छे पुग्ने गरेका छन् । बल्ब आफैमा एक म्युजियमजस्तो बनेको छ । हाल बल्बनजिकै एउटा वेब क्यामेरा पनि निगरानीका लागि राखिएको छ । २०१३ मा सीधा प्रसारण लाइनमा जोडिएपछि बल्बको फ्युज गएको खबर आएको थियो । नया पत्रिकाले छापेको छ ।

तर, पछि बुझ्दा बल्ब नबिग्रिएको देखियो । जबकि त्यतिवेला बिजुली वितरण गरिएको ७६ वर्ष पुरानो लाइनमा खराबी आएको थियो । लाइन मर्मत गरेपछि बल्ब पुनः सञ्चालनमा आयो । बल्ब गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि सामेल छ ।

Comment