गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

Posted By OSNepal, California, USA || Date: 13 February, 2018

काठमाडौँ- गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो ।

सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो ।

कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उहाँले भन्नुभयो ।

पैँतीस रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताउनुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!