मदन भण्डारीसंगै ज्यान गुमाएका जीवराज आश्रितकि पत्नी मायादेबीले २४ बर्षपछी पाइन् न्याय, ओलीले दिए यस्तो जिम्मेवारी



काठमाडौं, १ फागुन ।दासढुंगा दुर्घटनामा पति जीवराज आश्रित गुमाएकी एमाले नेत्री मायादेवी न्यौपाने (ज्ञवाली) ले पहिलोपटक पद प्राप्त गरेकी छन् । घटना घटेको २४ वर्षपछि उनलाई पार्टीले पहिलोपटक प्रतिनिधिसभा सदस्यमा समानुपातिकतर्फ चुनेर पठाएको हो ।

निर्वाचन आयोगमा एमालेले पठाएको सुचीको २१औँ नम्बरमा खस–आर्य÷महिला कोटाबाट मायादेवी न्यौपानेलाई पठाएको हो । दुर्घटना भएको यतिका वर्षसम्म गुमनाम जिन्दगी बिताइरहेकी न्यौपानेलाई एकाएक पार्टीले सम्झेकोमा उनको खुसीको सीमा छैन । न्याय पाएको अनुभुति पाएकी छन् । विगतमा आफुलार्य पार्टीले नसम्झेको भन्दै दुखेसो पोख्दै आएकी उनले एमालेको नेतृत्व तीन पुस्ता हस्तान्तरण हुदासम्म आफुलाई पार्टीका कुनै नेताले नसम्झेकोमा दुखीसगै आक्रोशित हुदै आएकी थिइन् । तर, केपी शर्मा ओली पार्टी अध्यक्ष भएपछि उनलाई पहिलोपटक जनताको सबैभन्दा उच्चथलो संसद्मा चुनेर पठाएका हुन् ।

जीवराजको निधनपछि उनको जीवन अन्धकारजस्तो भएको थियो । उनले घटनापछि पटकपटक आफुलाई पार्टीको कुनै जिम्मेवारी दिन शीर्ष नेतालाई आग्रह गर्दै आएकी थिइन् । तर, कसैले नपत्याएकोमा उनमा आक्रोश र पीडा थियो । त्यो वेला उनले भनेकै शब्द भन्नुपर्दा, ‘राष्ट्रिय राजनीतिमा देखिन चाहान्छु, सरकारमा गएर कलंक लाएर बर्खास्त हुन नभई उच्च सम्मानको साथ काम गर्न चाहान्छु ।’ दुई सन्तानकी आमासमेत रहेकी उनले अगाडि भनिन्, ‘मलाई पैसाको प्रलोभन छैन । पैसाको राजनीति गर्ने भए त अर्को पार्टीमा जाने थिएँ होला नि, मलाई अझै पनि आशा छ, मेरो पतिले निष्ठाको राजनीतिक गर्दै यो पार्टी हुर्काउनु भएको थियो । त्यसको प्रतिफल अहिले पाएको छु ।’ ‘पार्टीले अवसर दिए म नमुना सांसद बनेर देखाउन चाहान्छु ।’ यो भनाइ करिब चार वर्षअघिको भेटमा न्यौपानेले भनेको हो । सो जिम्मेवारी अब उनको काँधमा आएको छ ।

जीवराजको निधनपछि नियमित आयस्रोत केही पनि थिएन । भगवान् भरोसामा जीवन चलाइरहेकी न्यौपानेले सुरुका दिनमा धेरै कष्ट र सास्ती खेपेकी थिइन् । छोराछोरी सानै हुदा जीवराजको निधन भएपछि उनीसँगै उनको हाँसो र धेरै सपनाहरू टुटेर गएका थिए । छोराछोरीकै लागि उनले काठमाडौं आएर बस्ने निधो गरिन् । त्यस समयमा उनले कृषि सामग्री संस्थाको पाँचौँ तहमा जागिर खाएकी थिइन् । विगतमा गुल्मी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्न मनमोहन अधिकारी र साहना प्रधानले गरेको आग्रह इन्कार गर्नु नै आफ्नो राजनीतिक भुल भएको बताउँदै उनले अब पार्टीले दिएको जुनसुकै जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता देखाइन् ।

‘म आश्रितको पत्नी नभएर, एमालेको कार्यकर्ताका हिसाबले जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । १८ वर्षको शिक्षण गरेको अनुभव छ, सात वर्ष नायबसुब्बा भएको अनुभव छ’, उनले भनिन् । तीनदशक डेरामा बसेकी न्यौपाने गतवर्षदेखि भने चाबहिलमा पार्टीको सहयोग र ऋण गरेर बनाइएको घरमा बस्दै आएकी छन् । जनता टाइम्सबाट साभार

Comment