मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा, घर भत्काउन थालियो — OSNepal

मुग्लिन–पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीले बुझे मुआब्जा, घर भत्काउन थालियो

LC (KTM) March 10, 2024 0

तनहुँ, २७ फागुन : मुग्लिन–पोखरा सडक विस्तार आयोजना अन्तर्गत तनहुँको सदरमुकाम दमौलीका बासिन्दाले मुआब्जा लिएर घर भत्काउन थालेका छन् । दमौलीमा भत्किने सत्तरी घरमध्ये पचास जनाले पहिलो किस्ता बापतको मुुआब्जा बुझेर घर भत्काउन सुरु गरेका हुन् ।

पहिलो किस्ता लिएकामध्ये तेह्र जनाले आफैँ घर भत्काउन सुरु गरेका छन् । जिल्लाको बन्दीपुर डुम्रेदेखि दमौलीतर्फ सडक विस्तारका कार्य अघि बढाइएपछि सडक मापदण्डमा पर्ने दमौलीका घर भत्काउन थालिएको हो ।

घर भत्काइसकेपछि बाँकी दोस्रो किस्ता बापतको मुआब्जा प्रदान गरिने मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनीयर विष्णु पाण्डेले जानकारी दिनुभयो । दमौलीका घरका लागि करिब रु ६ करोड मुुआब्जा वितरण गरिनेछ, उहाँले भन्नुभयो “वर्तमान सडकको डिजाइनअनुरुप सडक केन्द्रबाट दायाँबायाँ २३÷२३ मिटरको हुनेछ ।”

दमौलीका घर बचाउनका लागि मापदण्ड घटाइयो भनेर गलत प्रचार गर्ने कार्य भएको हुँदा सडकको मापदण्ड फेरबदल हुन नसक्ने उहाँले बताउनुभयो । पृथ्वीराजमार्ग सडक अन्तर्गत पूर्व–पश्चिम गरी दुई खण्डमा यतिबेला सडक विस्तारका कार्य तीव्र गतिमा भइरहेको छ । हालको भौतिक प्रगति अनुरुप पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७ दशमलव पाँच प्रतिशत रहेको छ ।

उहाँका अनुसार दमौली र डुम्रे बजार क्षेत्रमा छ लेनको सडक बन्नेछ । राजमार्गको अन्य क्षेत्रमा चार लेनको सडक कायम रहेको छ । आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिसकिएको आयोजनाले जनाएको छ । उक्त सडक अन्तर्गत चारलेनको बाह्र किलोमिटर र दुई लेनको आठ किलोमिटर सडक कालोपत्र गरिएको हो । पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी रहेको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का सम्झौता भएको हो । उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद विसं २०८१ वैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट छ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर