तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल — OSNepal

तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य हो : राष्ट्रपति पौडेल

LC (KTM) March 16, 2024 0

जनकपुरधाम, ३ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताउनुभएको छ ।

आज मटिहानीमा सहिद केशव कोइरालाको प्रतिमाको अनावरण गरेपछि सहीद केशव कोइराला स्मृति प्रतिष्ठान र मटिहानी नगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले निमुखा र विपन्न वर्गको उत्थानसहित लोकतन्त्र, गणतन्त्र र समानतासहितको राज्य व्यवस्था कायम गर्ने सहिदको त्यो सपनालाई रक्षा गर्नु अहिलेको आवश्यकता हो भन्नुभयो । “हामीले जनताका अधिकार स्थापित गरेको संविधान पाएका छौँ । यसअनुसार दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान गर्नुछ । यही नै हो लोकतन्त्र, यही नै हो गणतन्त्र, यही नै हो समानता,” उहाँले भन्नुभयो ।

मधेसलाई प्रजातन्त्रको भूमिका रुपमा चित्रण गर्दै राष्ट्रपति पौडेलले नागरिक अधिकार स्थापनाका लागि सङ्घर्ष गर्ने क्रान्तिको केन्द्रमा मटिहानी रहेको स्मरण गर्नुभयो । नेपालको संविधानले निर्दिष्ट गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयआर्जनका अवसरबाट वञ्चित नगरिने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

राष्ट्रपतिले राजनीतिक रुपमा जनताको सर्वोत्तम उपलब्धि ‘गणतन्त्र’ प्राप्त भएको तर त्यसको वास्तविक अर्थ बुझ्न र त्यसलाई अनुभूत गर्न बाँकी नै छजस्तो आफूलाई लागेको बताउनुभयो । “गणतन्त्र भनेको शासनमा व्यक्तिको परिवर्तनमात्र होइन यो त जनताको राजकीय शक्तिको प्रवाहमा सामेल हुन पाउने अधिकार हो । यो संस्कार, संस्कृति, आनीबानी र व्यवहार मात्रै होइन आचरणमा परिवर्तन पनि हो भनेर हामीले बुझ्न बाँकी छ,” उहाँले भन्नुभयो ।

नेपाली जनताको ठूलो सङ्घर्षबाट आज मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथा अहिले हामीले लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण चरण पार गरेका छौँ भन्दै राष्ट्रपति पौडेलले वर्तमान संविधानले निरङ्कुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाका सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गरेको मात्र नभई वास्तविक अर्थमा नेपाली जनतालाई राजकीय शक्तिको मालिक बनाएको उल्लेख गर्नुभयो ।

राष्ट्रपतिले प्रशासनिकरूपमा राज्यको पुनः संरचनासँगै तल्लो तहका जनताको पहुँचमा राज्यसत्ता पुगेको र अब राज्यको चरित्रको पुनः संरचना हुन र केन्द्रीकृत अधिकार तल्लो तहमा प्रत्यायोजन गर्न अझै बाँंकी रहेको बताउनुभयो । “अब यसका लागि हामीले विलम्ब गर्न हुँदैन भन्ने मलाई लाग्छ । संविधानबमोजिम प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कानुन चाँडो निर्माण गर्न सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूलाई आग्रह गरेको म यहाँंहरूसमक्ष स्मरण गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह सङ्घर्ष अनि त्याग र बलिदानका कैयाँै कष्टकर दिनहरूमा आफ्नो प्राणको आहूति दिएर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र सङ्गठनलाई नेपाली भूमिमा सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त अविराम खटेको एक योद्धाको नाम केशव कोइराला भएको उहाँले उल्लेख गर्नुभयो । “ओखलढुङ्गाको पूर्वी गाउँ छहरे कोइराला गाउँमा जन्मनुभएका सहिद कोइराला आफ्नो धन–सम्पत्ति, नाता–कुटुम्ब सबैलाई त्यागेर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनुभएका कुशल सङ्गठनकर्ता तथा लोकप्रिय नेता हुनुहुन्थ्यो भन्नुभयो ।

त्यसअघि प्रजातान्त्रिक योद्धा गणेश नेपालीको सालिक अनावरण गर्दै राष्ट्रपति पौडेलले सुशासन, विकास, उत्पादन र रोजगारी बढाएर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई साकार पार्ने अभियानमा सबै एकजुट भएर लाग्न आह्वान गर्नुभयो । उहाँले जनता आफैँले बनाएको नेपालको संविधान कार्यान्वयन गरेर नेपाली जनताले चाहेको सुशासन, विकास, उत्पादन र रोजागरीका माध्यमबाट समृद्धिको यात्रामा अघि बढ्न जरुरी भएको बताउनुभयो ।

लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाए मात्रै आज केशव कोइरालाजस्ता सहिदहरू र गणेश नेपालीजस्ता प्रजातन्त्रका योद्धाप्रति सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपतिले बताउनुभयो । केशव कोइराला र गणेश नेपालीका सालिक देशमा लोकतन्त्र स्थापना र पुनः स्थापनाका लागिभएका सङ्घर्षबारे बुझ्ने चाहनेहरुका लागि एउटा जीवन्त इतिहास भएर रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर