राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा सम्पन्न — OSNepal

राष्ट्रपति पौडेलद्वारा स्वयम्भू महाचैत्यको पूजा सम्पन्न

LC (KTM) March 18, 2024 0

काठमाडौँ, ५ चैत : राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भू महाचैत्यको मूल छत्र–गजुरको प्राण प्रतिष्ठा गर्नुभएको छ । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिद्वारा आज आयोजित कार्यक्रममा धार्मिक परम्पराअनुसार राष्ट्रपति पौडेलले चैत्यको पूजा गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेललाई महासमितिका पदाधिकारी र कर्मचारीले स्वागत गर्नुभएको थियो ।

विसं २०७९ फागुन ३० गते हावाहुरीले चैत्यमा क्षति पुगेको थियो । काठमाडौँ महानगरपालिका–१५ मा पर्ने उक्त स्थल विश्वसम्पदा सूचीमा सूचीकृत छ । करिब रु ५० लाखको लागतमा त्यसको जीर्णोद्वार सम्पन्न गरिएको हो । पुरातत्व विभाग र महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थानको प्राविधिक टोलीले विस्तृत अध्ययन गरेपछि महासमितिले जीर्णोद्धार सम्पन्न गरेको चैत्य करिब एक सय छ मिटर अग्लो छ ।

अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले त्यस क्षेत्रको संरक्षणमा गरेका गतिविधिबारे जानकारी गराउनुभयो । सो अवसरमा राष्ट्रपति पौडेलले महासमिति अध्यक्ष भिक्षु धर्ममूर्ति, महासचिव अशोक बज्राचार्य लगायतलाई सम्मान गर्नुभएको थियो ।

विशेषगरी बौद्ध अनुयायीले विभिन्न धार्मिक गतिविधि गर्ने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने गरेको महासमितिका प्रशासकीय अधिकृत दिपेन्द्र वैद्यले जानकारी दिनुभयो । यहाँ स्वदेशी तथा विदेशी पर्यटक घुम्न आउने गर्दछन् । यस आसपासमा रहेको अनन्तपुर र प्रतापपुर पनि केही वर्षअघि जीर्णोद्धार सम्पन्न गरिएको थियो ।

संस्कृतमा स्वयम्भूको अर्थ आफैँ उत्पन्न भएको भूमि हो । यहाँ विपश्वी बुद्धले आएर पूजा गरेको धर्मावलम्बीको विश्वास रहेको महासमितिका इञ्जिनियर राजेश सुवालले जानकारी दिनुभयो । विश्वशान्ति तथा मानवकल्याणको उद्देश्यले विभिन्न धार्मिक गतिविधि हुने गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर