लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा — OSNepal

लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका उपाध्यक्षलाई निमन्त्रणा

LC (KTM) March 23, 2024 0

काठमाडौँ, १० चैत : अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने गरी तयारी भइरहेको तेस्रो लगानी सम्मेलनमा भाग लिन विश्व बैङ्कका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई निमन्त्रणा गर्नुभएको छ ।

बिहीबार राति अर्थमन्त्री पुन र विश्व बैङ्कका उपाध्यक्षत्रय मार्टिन रेजर, आकिहिको निसिओ र ग्वान्झे चेनबीच भर्चुअल संवाद भएको थियो । उक्त संवादका क्रममा अर्थमन्त्री पुनले लगानी सम्मेलनमा भाग लिनका लागि निम्ता गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

उक्त संवादका क्रममा अर्थमन्त्री पुनले उहाँहरुलाई औपचारिक रुपमा यसअघि नै निमन्त्रणा पठाइसकिएको स्मरण गराउँदै लगानी सम्मेलन निर्देशक समिति अध्यक्षका हैसियतले व्यक्तिगत रुपमा पनि निम्तो दिएको बताउनु भएको थियो ।

जवाफमा उपाध्यक्ष रेजरले निमन्त्रणाका लागि धन्यवाद दिनुहुँदै नेपाल र विश्व बैङ्कबीचको विकास साझेदारीमा थप सहकार्यका क्षेत्रबारे कुराकानी गर्न इच्छुक रहेको बताउनुभएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी र प्रक्रियागत सुधारका काम अघि बढेको जानकारी अर्थमन्त्री पुनले गराउनुभएको थियो । सम्मेलनलाई नेपालले अवसरका रूपमा लिएको बताउँदै उहाँले विश्व बैङ्कसहित अन्य विकास साझेदारसँगको सहकार्य आगामी दिनमा अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर