रक्षामन्त्री उप्रेतीद्वारा सैनिक मुख्यालयको निरीक्षण — OSNepal

रक्षामन्त्री उप्रेतीद्वारा सैनिक मुख्यालयको निरीक्षण

LC (KTM) March 26, 2024 0

काठमाडौँ- रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले प्राप्त जिम्मेवारी सदैव उच्च दक्षता एवं व्यावसायिकताका साथ सम्पन्न गरेको बताउनुभएको छ ।सैनिक मुख्यालय जङ्गी अड्डाको निरीक्षण पछि आयोजित कार्यक्रममा उहाँले सेना विषय परिस्थितिमा नेपाली जनताको भरोसाको केन्द्रको रूपमा रही आएको बताउनुभयो ।

मन्त्री उप्रेतीले भन्नुभयो, “विपद्को समयमा जनताको सुरक्षाको लागि नेपाली सेनाले देखाएको व्यावसायिक क्षमता प्रदर्शन, वन्यजन्तु तथा पर्यावरण संरक्षणप्रतिको योगदान एवं राष्ट्रिय एकता प्रवरर्द्धनमा गरेका उल्लेखनीय कार्यले सेनाप्रति नेपाली जनताको उच्च विश्वास, भरोसा र सम्मान छ ।”

सुदृढ राष्ट्रिय सुरक्षा प्रणाली, आधुनिक एवं बलियो सेना, सबल अर्थतन्त्र, चुस्त कूटनीतिले नै अन्तर्राष्ट्रिय मञ्चमा राष्ट्रको सामर्थ्य मापन हुने बताउँदै उहाँले राष्ट्रिय सुरक्षाको मेरुदण्डको रूपमा रहेको नेपाली सेनाको समयानुकूल आधुनिकीकरण र सबलीकरण गर्नेबारे सरकार जानकार रहेको विचार प्रकट गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा राष्ट्रिय एकताको रक्षार्थ नेपाली सेनाले अहम भूमिका निर्वाह गर्दै आएको बताउँदै मन्त्री उप्रेतीले विकास निर्माण, विपद् व्यवस्थापन, नागरिक सहयोग, खेलकुद एवं विश्व शान्ति स्थापनामार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित गराउन सेनाले प्रशसनीय कार्य गरेको बताउनुभयो ।

त्यस अवसरमा प्रधान सेनापति प्रभुराम शर्माले संविधान प्रदत्त जिम्मेवारी र नेपाल सरकारबाट प्राप्त विकास निर्माण लगायत विविध जिम्मेवारी समयमानै पुरा गर्दैआएको बताउनुभयो । सङ्गठनलाई प्राप्त जिम्मेवारी पूरा गर्ने क्रममा आई पर्ने चुनौतीलाई विधिसम्मत रुपमा पर्गेल्दै आएको बताउँदै उहाँले नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ गरिरहेका कार्यहरुले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली सेना दुवैको साख बढाएको बताउनुभयो ।

प्रधानसेनापति शर्माले भन्नुभयो, “सेनाले विश्वशान्ती कार्यमा सहभागी भई सैन्य कूटनीति प्रवर्ध्द र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत सकारात्मक प्रभाव परेको छ ।” उहाँले बाह्य तथा आन्तरिक सुरक्षा प्रणालीलाई सुदृढ बनाई राष्ट्रको आधारभूत मूल्यमान्यताको रक्षा एवम् जनताको विकास र समृध्दिको अभिलाषालाई पूरा गर्न समेत नेपाली सेनाको समयानुकूल आधुनिकीकरण गर्दै लैजान आवश्यक रहेको बताउनुभयो ।त्यस अवसरमा मन्त्री उप्रेतीलाई सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका गतिविधिबारे जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर