अबको केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् : मन्त्री गिरी — OSNepal

अबको केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन् : मन्त्री गिरी

LC (KTM) March 26, 2024 0

पर्वत – कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताउनुभएको छ । पर्वतको लुंखुदेउरालीमा सोमबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले अघिल्लो गठबन्धन भत्किएर पुनःगठित सरकार मुलुकका तमाम समस्या समाधानका लागि बनेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई लयमा फर्काउनेदेखि लिएर मुलुकमा सुशासन कायम गराउन सरकारलाई मुख्य चुनौती रहेको भन्दै अबको आठ÷दश महिनामा धेरै कुरा परिवर्तन हुने बताउनुभयो । उहाँले सरकारले भ्रष्टाचार न्यूनीकरण र सुशासनको प्रवर्द्धनका लागि कामअघि बढाइ सकिएको बताउँदै न्यूनतम् साझा कार्यक्रमको सफल कार्यान्वयन गर्नतर्फ अग्रसर भएको दाबी गर्नुभयो । मन्त्री गिरीले बढ्दो युवा पलायन रोक्नका लागि उचित युवामैत्री नीति ल्याउनतर्फ आफू लागेको बताउनुभयो ।

गरिबमैत्री, युवामैत्री, लगानीमैत्री कानुन र नीतिकै अभावमा तमाम समस्या पैदा भएको भन्दै अब नागरिकमैत्री ऐन कानुन यो सरकारले ल्याउने दाबी गर्नुभयो । अहिलेको सरकारलाई काम नगरी दिन कटाउने छुट नभएको उहाँले बताउनुभयो । विगतका सरकारले सत्ता टिकाउने खेल मात्र खेलेका कारणमुलुक आज यो अवस्थामा पुगेको भन्दै अब आर्थिक समृद्धि र विकासका लागि सरकारले चार वर्षसम्मै काम गर्ने उहाँको भनाइ छ । मन्त्री गिरीले यो सरकार पूरै कार्यकालसम्म रहने दाबी गर्नुभयो । उहाँले लामो समयदेखि विचाराधीन रहेका विधेयक यो सरकारले आवश्यक प्रक्रिया पूरा गरी धमाधम संसद्मा पेश गर्ने र पारित गर्ने बताउनुभयो ।

मन्त्री गिरीले विकास निर्माणमा तीनै तहका सरकारबीच समझदारी आवश्यक रहेको बताउनुभयो । ठूलो योजना सङ्घीय सरकारबाट, मझौला खालका योजना प्रदेश र साना योजना स्थानीय तहबाट कार्यान्वयन गर्न सकेमा मात्र एकीकृत विकास हुने उहाँको भनाइ छ ।

आफूलाई दुई÷दुई पटकसम्म प्रतिनिधिसभामा विजयी गराएर पठाउने पर्वतवासी नागरिकका चाहना र आवश्यकता पूरा गर्नका लागि हरदम प्रयासमा लागेको उहाँको भनाइ छ । उहाँले योजनालाई प्राथमिकीकरण गरेर बजेट माग गर्न पनि आग्रह गर्नुभयो । सबैभन्दा बढी आवश्यक र धेरै जनताको माग भएका योजनालाई पहिलो प्राथमिकतामा र कम आवश्यकता भएका योजनालाई पछि बनाउने गरी बजेट माग गर्न उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर