सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै — OSNepal

सीमान्तकृत समुदायका तीन सय ७६ विद्यार्थी एसइईमा सहभागी हुँदै

LC (KTM) March 27, 2024 0

चितवन, १४ चैत : बिहिबारबाट सुरु हुन लागेको एसइई परीक्षामा जिल्लाका तीन सय ७६ सीमान्तकृत समुदायका विद्यार्थी सहभागी हुँदैछन् । यही चैत २७ गतेसम्म सञ्चालन हुन लागेको यस वर्षको एसइई परीक्षामा चेपाङ् समुदायका तीन सय ५१, बोटे समुदायका १३ र माझी समुदायका १२ विद्यार्थी सहभागी हुन लागेका हुन् ।

जिल्लाबाट १० हजार नौ सय २३ विद्यार्थी सहभागी हुने परीक्षामा उनीहरुले सहभागिता जनाउन लागेको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख भूमिलाल सुवेदीले जानकारी दिनुभयो । जिल्लाका ४२ केन्द्रबाट ती विद्यार्थी परीक्षामा सहभागी हुन लागेका हुन् । जम्मा ६४ विद्यालयमा अध्ययन गरेका चेपाङ समुदायका विद्यार्थीसँगै ११ विद्यालयमा अध्ययन गरेका माझी र १२ विद्यालयमा अध्ययन गरेका बोटे समुदायका विद्यार्थी परीक्षामा सहभागी हुन लागेका उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्ष जिल्लाबाट सात विद्यालयमा अध्ययन गरेका संस्कृत अध्ययन गर्ने ४७ विद्यार्थी पनि परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा सहभागी विद्यार्थीमध्ये नियमितितर्फ १० हजार पाँच सय ७१, प्राविधिकतर्फ दुई सय ७१, ग्रेड वृद्धितर्फ एक सय ३५ विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् । यस वर्षको परीक्षामा चार दृष्टिविहीन विद्यार्थीले समेत सहभागिता जनाउन लागेको उहाँले जानकारी दिनुभयो ।

परीक्षा सम्पन्न गर्नका लागि भरतपुर महानगरपालिकाकमा २२, रत्ननगर नगरपालिकामा सात र खैरहनी नगरपालिकाका चार केन्द्र तय गरिएको छ । यस्तै राप्ती नगरपालिकामा तीन, माडी नगरपालिका र कालिका नगरपालिकामा दुई÷दुई केन्द्र तोकिएको छ ।

यस्तै इच्छाकामना गाउँपालिकामा दुई केन्द्र तोकिएको उहाँले बताउनुभयो । ती केन्द्रमा ४२ केन्द्राध्यक्ष र पाँच सय ४५ निरीक्षक परिचालन गर्ने तयारीमा एकाइ रहेको छ । परीक्षालाई मर्यादित बनाउनका लागि आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर