‘मुलुकको विकासका लागि सडक र पुल निर्माण महत्वपूर्ण’ : मन्त्री महासेठ — OSNepal

‘मुलुकको विकासका लागि सडक र पुल निर्माण महत्वपूर्ण’ : मन्त्री महासेठ

LC (KTM) March 30, 2024 0

नारायणगढ (चितवन), १७ चैतः उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुलुकको विकास गर्नका लागि सडक र पुल पुल निर्माण महत्वपूर्ण भएको बताउनुभएको छ ।तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदीमा रहेको पुलको आज भएको उद्घाटन समारोहमा उहाँले हाल देशका सडक सञ्जालको विकाससँगै रेलको विकास पनि गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आज पूर्व–पश्चिम रेलदेखि लिएर बर्दिबास–निजगढ–जयनगर, विजयपुर–बर्दिबासका केही भागमा रेल पनि सञ्चालन भइसकेको छ । विराटनगरको कार्गो रेलको पनि सुरुआत हुने परिस्थितिमा पुगेको छ । काठमाडौँ–पोखरा रेलमार्गको डिपिआर पनि भइरहेको छ ।”

सरकारको नीति पहिले सडक र पुल निर्माण गर्ने रहेको उहाँको भनाइ थियो । निर्माण व्यवसायीहरूले काम गरेबापतको भुक्तानी नपाएको गुनासो आएको भन्दै उहाँले थप्नुभयो, “दोस्रोपटक म यो मन्त्रालयमा आउँदा मैले व्यवसायीहरूले भुक्तानी नपाएको भन्ने महसुस गरेँ । अब यो सरकार आएपछि भुक्तानी सुरु भइसकेको छ ।” उहाँले बाँकी भएकाहरूले अविलम्ब भुक्तानीको व्यवस्था हुने आश्वासन दिनुभयो ।

असार मसान्तभित्र सम्पन्न हुने पुललगायतका निर्माण योजनाका लागि आवश्यक बजेट सरकारले तुरुन्तै उपलब्ध गराउने उहाँले बताउनुभयो । निर्माण सम्पन्न हुने अवस्थाका सडकका लागि सरकारले बजेट अभाव हुन नदिने सरकारको आन्तरिक निर्णय भएको बताउँदै उहाँले काम गर्नेले समयमै भुक्तानी पाउने बताउनुभयो ।

विसं २०८१ सम्ममा सडक सञ्जालबाट सबै जिल्लाका सदरमुकाम जोड्ने योजना सरकारको रहेको उहाँले बताउनुभयो । उहाँले नारायणी नदीमा नेपालको सबैभन्दा आधुनिक र ठूलो सिग्नेचर पुल आउँदो आर्थिक मसान्तको अन्तसम्ममा शिलान्यास गरिने पनि बताउनुभयो ।

सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले विसं २०७१ कात्तिक २० गते निर्माण सुरु भएको ठिमुरा पुलको निर्माण ३६ महिनामा सम्पन्न हुने लक्ष्य लिए पनि विभिन्न चुनौतीका बाबजुद आज करिब रु २२ करोड लागतमा सम्पन्न गरेर उद्घाटन गर्न सफल भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले जिल्ला र प्रदेशसमेत जोड्ने यस पुलले यहाँको पर्यटनसँगै स्थानीयहरूको जनजीवन कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । प्रदेशको तर्फबाट विकास निर्माणका कुरामा सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पुल निर्माणले देवघाट र भरतपुरको सम्बन्धमा थप सुमधुरता ल्याउने बताउनुभयो । उहाँले तीर्थालु भक्तजन र धार्मिक पर्यटकका लागि निकै महत्त्वपूर्ण रहेकाले यहाँको जनताका लागि प्रत्यक्षरूपमा जीवनस्तर उकास्नमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस क्षेत्रको समग्र विकासका लागि महानगरले सक्दो सहयोग गर्दै आएको र गरिरहने बताउनुभयो ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टङ्कनाथ पौडेलले विसं २०६७ देखि पुलको आवश्यकता ठानेर अहोरात्र खटिने सबैमा आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको मध्यभागमा पर्ने देवघाटको यस पुल धार्मिक पर्यटकका लागि निकै महत्त्वपूर्ण रहने बताउनुभयो । तनहुँ र चितवन जोड्ने नवनिर्मित त्रिशूली नदी पुलको आजै राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर