इलाम-२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने उपमहासचिव ज्ञवालीको दाबी — OSNepal

इलाम-२ मा हुने उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने उपमहासचिव ज्ञवालीको दाबी

LC (KTM) March 31, 2024 0

इलाम-नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम क्षेत्र नं २ उपनिर्वाचनमा एमाले उम्मेदवार नै निर्वाचित हुने दाबी गर्नुभएको छ । “निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी यसपटक पनि इलाम-२ मा चुनाव जित्छौँ ।”

इलाम सदरमुकाममा पार्टी नेता–कार्यकर्तासँगको भेटमा ज्ञवालीले सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको पनि बताउनुभयो । लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि उपनिर्वाचन विजयीका लागि बलियो आधार भएको बताउनुभयो ।

“अहिले पार्टीको आन्तरिक एकता बलियो छ, एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी नागरिकको सेवामा खटिएका छौँ”, उहाँले भन्नुभयो, “इलाम २ मा नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले यसपटक एमालेलाई मतदाताले जिताउनुहुनेछ ।”

ज्ञवालीले एमाले कुनै पनि स्वार्थबिना सरकारमा सहभागी भएको बताउनुभयो । “यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निराशा अन्त्य गर्नु, आर्थिक सूचक आशलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको छ ।” एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । एमालेले नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर