उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट — OSNepal

उपप्रधानमन्त्री लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक बीच शिष्टाचार भेट

LC (KTM) April 01, 2024 0

काठमाडौं, १९ चैत : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र विश्व बैङ्कका देशीय निर्देशक फारिस हदाद जेर्भोसबीच शिष्टाचार भेटघाट भएको छ । आज गृह मन्त्रालयमा भएको भेटमा जेर्भोसले नेपालमा सञ्चालनमा रहेका, निर्माणाधीन अवस्थामा रहेका र परियोजना सम्भाव्यता अध्ययन भइरहेका ठूला जलविद्युत् परियोजनाबाट हुन सक्ने विपद् जोखिमलाई दृष्टिगत गर्दै विस्तृत विपद् जोखिम न्यूनीकरण परियोजना र तिनै तहका सरकारका संस्थागत क्षमता विकासमा सहयोग गर्न इच्छुक रहेको बताउनुभयो ।

उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँले विश्व बैङ्कले सामाजिक संरक्षण, ‘डिजिटलाइजेसन’ तथा विपद् व्यवस्थापन समेतका क्षेत्रमा सहयोग गर्न पाएकाप्रति खुसी अभिव्यक्त गर्नुभयो ।उपप्रधान तथा गृहमन्त्री लामिछानेले विश्व बैङ्कले नेपाललाई भूकम्पपश्चात् पुनःनिर्माण, सामाजिक संरक्षण, विपद् व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्नुभयो । उहाँले नेपाल र विश्व बैङ्कबीच हुने सहकार्यलाई सहज एवं प्रभावकारी बनाउन विगतमा भए÷गरेका समझदारीपत्र, सम्झौता, प्रतिबद्धता तथा संवादको पुनरावलोकन गर्दै आगामी दिनमा सबल र प्रभावकारी सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री लामिछानेसँग आजै संयुक्त राष्ट्र सङ्घीय शरणार्थीसम्बन्धी उच्च आयोग (युएनएचसिआर) का देशीय प्रतिनिधि क्यारोलिन स्पान्नथबर्माले पनि शिष्टाचार भेटवार्ता गर्नुभयो ।

उपप्रधानतथा गृहमन्त्री लामिछानेले नेपालको शरणार्थी मामिलालाई व्यवस्थित गर्न युएनएचसिआरले विभिन्न समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले शरणार्थी मामिलाका सन्दर्भमा आइपर्ने विभिन्न विषयमा परस्पर समन्वय र सहकार्य गर्न मन्त्रालय सधैँ तयार हुने प्रतिबद्धता गर्नुभयो ।

बर्माले मन्त्री लामिछानेलाई बधाई तथा नयाँ कार्यकालको शुभकामना दिँदै लामो समयदेखि युएनएचसिआर र गृह मन्त्रालयबीच शरणार्थी मामिलाका सम्बन्धमा सौहाद्र्रपूर्ण समन्वय र सहकार्य हुँदै आएकामा खुसी पनि व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा अझ सबल र प्रभावकारी सहकार्य हुने विश्वास प्रकट गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर