व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै चौधरी,लगानीभन्दा आम्दानी तेब्बर — OSNepal

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्दै चौधरी,लगानीभन्दा आम्दानी तेब्बर

LC (KTM) April 02, 2024 0

भजनी (कैलाली), २० चैत : पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गर्नुभएको छ । व्यावसायिक च्याउखेतीमा लाग्नुभएका चौधरीले गाउँमा नमुना किसानको परिचय बनाउनुभएको छ ।विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उहाँलाई सफल किसान बनाएको छ । उहाँले व्यवसायलाई बढाउँदै लैजानुभएको छ । “मैले सिजनअनुसार छ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ”, उहाँ भन्नुहुन्छ ।

चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आउनुभएको छ । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएका उहाँले बर्खामा दुधेच्याउ लगाउँदै आउनुभएको छ । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको उहाँ बताउनुहुन्छ । “लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु”, उहाँ भन्नुहुन्छ, “परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।”

उहाँले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आउनुभएको छ । अहिले उहाँको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । “च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ”, उहाँले भन्नुभयो । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाउनुभएका उहाँलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ ।

जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा हुनुहुन्छ । उहाँले च्याउखेतीमा करिब रु ५० लाख लगानी गरिसक्नुभएको छ । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उहाँले व्यवसाय वृद्धिमा नै लगाउनुभएको छ । “मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ”, उहाँ भन्नुहुन्छ । च्याउखेतीका लागि उहाँले एसी प्लान्ट जोड्नुभएको छ । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आउनुभएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त हुनुभएको छ । उहाँले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आउनुभएको छ ।

जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गर्नुभयो । पढ्दै खेतीमा लाग्नुुभएकी उहाँलाई एन्जिल चौधरीले सिकाउनुभएको थियो । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सक्नुभयो भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लाग्नुभयो । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताउनुभएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उहाँ भन्नुहुन्छ, “अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।”

बाह्र महिना च्याउ उत्पादनमा लाग्नुभएकी उहाँले ठूलो धनराशि लगानी गर्नुभएको छैन । यो वर्ष रु एक लाख लगानी गरेको उहाँको च्याउ खेतीबाट रु छ लाख आम्दानी भएको छ । “च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ”, उहाँ भन्नुहुन्छ । उहाँको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर