दोस्रो सातामा प्रदर्शनरत ‘महाजात्रा’ मध्यरातसम्मै हलमा , हेर्नुहोस् यी दृश्यहरु — OSNepal

दोस्रो सातामा प्रदर्शनरत ‘महाजात्रा’ मध्यरातसम्मै हलमा , हेर्नुहोस् यी दृश्यहरु

admin April 04, 2024 0

‘महाजात्रा’ दोस्रो सातामा प्रदर्शनरत छ । फिल्म हेरिसकेका दर्शकले सिफारिस गरेपछि यतिबेला दर्शक हलमा भरिभराउ छन् । नयाँ दर्शकसँगै परिवार नै हलमा देखिएका छन् । विश्वभर आक्रामक व्यापार गरिरहेको फिल्म हेर्ने दर्शकको सङ्ख्या बढेपछि मध्यरातसम्म प्रदर्शन भएको छ । बुधवार चाबहिलमा रहेको एफक्यु सिनेमाजमा दर्शकको अत्यधिक चाँप बढेपछि १०ः३० बजेको शो थपियो । उक्त शो सकिदा १ः३० बजेको थियो । यस्तै, ९ बजेसम्मको शो अधिकाँस मल्टिप्लेक्समा रहेको छ भने जमलमा रहेको विश्वज्योति सिनेपल्केसमा पनि बुधवार ९ः३० बजेको शो राखियो । यहि शुक्रबारदेखि तेस्रो हप्तामा प्रवेश गर्दापनि हलमा दर्शकको भिड दिनानुदिन बढ्दो छ । राति अबेरसम्म दर्शक हलमा भएपछि हर्षित देखिका कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले हल पुगेर भेटेका थिए ।

उनले दर्शकले देखाएको मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताए । ‘हाम्रो फिल्मलाई माया गरेर राति अबेरसम्म दर्शक हलमा देख्दा निकै खुसी लागेको छ । थप खुसी उहाँहरू फिल्म हेरेर निस्किदै गर्दा दिने प्रतिक्रियाले दिन्छ । उहाँहरूले हामीलाई भेटेर आशिर्वाद दिनुभएको छ, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिदिनुभएको छ’, अभिनेता बानियाँले भने ।
उनले विद्यार्थीको विभिन्न तहको परिक्षा सकिदै गर्दा दर्शक चाँप झनै बढिरहेको बताए । सामाजिक सञ्जाल र हलमा भेटिने दर्शकहरू समूहमा आइरहेको उनले बताए । ‘हामी समय मिलाएर अधिकाँस हलमा पुगेर दर्शकलाई धन्यवाद दिएर प्रतिक्रिया लिईरहेका छौँ । दोस्रो साता पुरा हुँदै गर्दा पनि हाउसफुल हुनु दर्शकको अपार माया हो’, उनले भने । एफक्युबमा रहेका दर्शकले दिउँसोको समयमा टिकेट नपाइएको र अफिसियल काममा बिजी भएकाले रात्रीकालिन शो हेर्न आएको बताए । उनीहरू साथी तथा परिवारसँग फिल्म हेर्न आइपुगेका थिए । उपस्थित दर्शकको प्रतिक्रियालाई निर्माण समूहले आफ्नो आधिकारी सामाजिक सञ्जालमार्फत प्रशारण गरेको छ ।

अभिनेता बानियाँले नेपाली फिल्मलाई मध्यरातका शो दिएमा दर्शक आउने प्रमाणित भएको बताए । ‘दिउँसो त हलमा दर्शकहरु भेटेकै हो । तर यसरी मध्यरातमा दर्शक भेटेको पहिलो अनुभव हो । हाम्रो लागि यो एउटा इतिहास जस्तै बनेको छ । रातिको २ बजे हलमा दर्शकहरूसँग बाँड्नु हाम्रो समूहका लागि ठूलो सफलता हो’, अभिनेता बानियाँले भने । शुक्रबारदेखि प्रदर्शनको दोस्रो साता पुरा गरेर तेस्रो सातामा लाग्दै गर्दा फिल्मको उल्लेख्य शो रहेको छ । दर्शकको चाँप बढेकै कारण प्रदर्शकले विकेन्डमा फिल्मलाई राम्रो शो दिएका छन् । नेपाल मात्र नभई फिल्मले विदेशमा पनि उस्तै दर्शक पाएको छ ।
नेपालपछिको दोस्रो ठुलो मार्केट मानिने अष्ट्रेलियामा दुईसातामा ५७ शो भएको छ । यस्तै, अमेरिकामा ५० बढी शो, न्युजिल्यान्डमा १२ शो, युरोप अन्तर्गतका देशमा १५ शो, क्यानडामा १० शो, जापानमा १० शो र दक्षिण कोरियामा १० शो भईसकेको छ । यी सबै शो सोल्ड आउट भएका थिए ।

अझै माग अनुसार थपिने शोले अहिलेसम्म विदेशमा बनेको रेकर्ड तोडेको छ । मध्यपूर्व अन्तर्गतका देशहरू कतार, युनाइटेड अरब इमिरेट्स, बहराइन, ओमान र मलेसियामा नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ । मलेसियामा ६० शो भईसकेको छ भने युनाइटेड अरब इमिरेस्टमा दैनिक २० शो भइरहेको छ । अर्थात् नेपाल झैँ मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको छ ।

चैत ९ गतेदेखि प्रदर्शनरत फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बीचको मित्रतालाई देखाईएको छ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिवीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत गरिएको छ ।
फिल्मलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने,पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर